• १७ असार २०८१, सोमबार

उम्मेदवार घरमा, मतदाता खेतमा

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, कात्तिक १४ गते ।  आगामी मङ्सिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू भोट माग्न घरघरमा पुग्न थालेका छन् भने मतदाता खेतीपाती भित्र्याउन थालेका छन् ।

यो वर्षको दशैँ, तिहार सकिएलगत्तै किसानलाई धानबाली भित्र्याउने चटारो छ । त्यसैले किसान धान काट्न खेतमा व्यस्त छन् । उम्मेदवारहरू भोट माग्न घरदैलो अभियानलाई तीव्र बनाई घरमा पुग्दा धेरैजसो घर रित्तै हुने गरेको छ । कमलामाई नगरपालिका–४ निवासी नीलहरि दाहाल उम्मेदवारले मतदातालाई घरघरमा भेट्न बिहान बेलुकाको समय मिलाउनुपर्ने बाध्यता भएको सुनाउनुहुन्छ । 

उहाँले भन्नुभयो, “सबैको खेतमा धान पाकेको छ । हरेक दिन बिहान १० बजेपछि बेलुका ५ बजेसम्म किसान खेतमा नै व्यस्त हुन्छन् ।”

कतिपय उम्मेदवारले मतदातालाई खेतमै पुगेर भोट माग्ने गरेको उहाँको भनाइ छ । भोट माग्ने क्रममा उम्मेदवार र सम्बद्ध दलले मतदातालाई आफ्नो प्रचार सामग्री वितरण गर्ने र मतदाता शिक्षा दिने गरेका छन् ।

“चुनावको रौनक चाहिँ आउन थालेको छ,” दुधौली नगरपालिका–३ निवासी शर्मिला बरालले भन्नुभयो, “उम्मेदवार र सम्बद्ध राजनीतिक दलका कार्यकर्ताले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । घरदैलोमा नभेटिए खेतमै पुग्न थालेका छन् ।”

प्रतिनिधि सभाको दुई निर्वाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा प्रतिनिधि सभा निर्वाचनतर्फ क्षेत्र नं. १ मा एक लाख सात हजार १३६ मतदाता र क्षेत्र नं. २ मा एक लाख एक हजार २३३ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा १५१ मतदान स्थल र २६७ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।