नेपालमा निर्वाचनको सरगर्मी सुरु भइसकेको छ। आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै पटक हुँदै छ। यस अर्थमा यो चुनाव नेपाल र नेपालीको भविष्य निर्माणका लागि अति नै महत्वपूर्ण मानिएको छ। निर्वाचन आयोग पनि निर्भयतापूर्वक निर्वाचन आचारसंहिता पालना गराउन कम्मर कसेर लागिपरेको छ। आयोग निर्वाचनको तयारीमा पनि जुटेको छ। राजनीतिक दलहरू, नेताहरू पनि निर्वाचनमै सक्रिय रहेका छन्। चाडपर्व सकिएलगतै निर्वाचनको माहोल पनि बिस्तारै बढ्दै गएको छ। अब झनै राजनीतिको माहोल झनै बढ्नेछ। यही अवस्थामा मतदातालाई भने मत कसलाई दिने भन्ने सकस भएको छ। निर्वाचन कार्यमा अन्तिम महत्त्वपूर्ण काम मतदान नै हो। अहिले थरीथरीका उम्मेदवार मतदातासमक्ष आआफ्ना एजेन्डा आकर्षक रूपमा सजाएर मतदाताको घरदैलोमा रातदिन नभनी पुगिरहेका छन्। मतदाताले होस गर्नुपर्ने बेला यही हो। जसले गर्दा विगतमा झैँ भोजभतेर र पैसाको प्रर्लोभनमा नपरी निस्वार्थपूर्वक आफू र आफ्ना सन्ततिको भविष्यका लागि मत दिने महत्वपूर्ण अवसर आएकाले यसको सही सदुपयोग गर्न आवश्यक छ।
विगतमा मतदाताले बेलैमा होस नगरेकाले अहिले हामी त्यसको प्रतिफल भोगिरहेका छौँ। अब यो गल्ती किमार्थ दोहोरिनदिनु हुँदैन। यतिबेला धेरै उम्मेदवार चुनावी मैदानमा छन्। को सही उम्मेदवार र होइन भन्ने पहिचान मतदाताले गर्न सक्नुपर्छ। पाँच दलीय गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार रातदिन प्रचारमा जुटेका छन्। हरेक उम्मेदवारको कुरा सुन्दा सबै आफैँ जित्ने दाबी गरिरहेका छन्। उम्मेदवारले नभएका र हुनै नसक्ने हावा गफ गरिदिने र मतदाताहरूले पनि नेताका हावा गफको भ्रममा परेर क्षणिक लोभ र स्वार्थमा मत दिएकाले नै नेपाल कमजोर अवस्थामा पुगेको हो। नेपाल र नेपालीको वर्तमान अवस्थाले सङ्केत गरिसकेको छ कि अब पहिलेको पाराले मत दिने अवस्था अब छैन। नेपाल बनाउने विषयमा अब कसलाई मत दिने भनेर साँच्चै सोच्नैपर्ने गम्भीर अवस्थामा नेपाली मतदाता आइपुगेका छन्।
निर्वाचनको परिणामले पाँच वर्षसम्म मुलुकको बागडोरको साँचो निर्वाचित प्रतिनिधिहरूले हातमा लिएर राज्य सञ्चालन गर्दछन्। अनि यो बागडोर सही नेतृत्वको हातमा परे मात्र सुखी नेपाली समृद्ध नेपाल बन्न सक्छ। मुलुकको भविष्य यसैले निर्धारण गर्दछ। तर यहाँ विगतमा निर्वाचन जित्न धेरै श्रम साधनको प्रयोग गर्ने अनि जितेपछि भ्रष्टाचार गरेर निर्वाचनमा खर्च भएको दस गुना धेरै अकुत सम्पत्ति कमाएर नेता धनी हुने क्रमले अहिले नेपाल यो अवस्थामा पुगेको स्पष्टै छ। आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारसमेत देखिएका छन् र उनीहरू निर्वाचन जित्ने दाबी गरिरहेका छन्। प्रमुख दलहरूबाट टिकट पाएर उम्मेदवार बन्ने अवसर पाएकाहरूको पनि जित्ने दाबी झन् चर्को छ। यसरी थरीथरीका उम्मेदवारको जित्ने दाबीले यो निर्वाचनको परिणाम कस्तो आउने हो धेरैलाई नै रुचिको विषय बनेको छ। तर चुनावमा जसले जिते पनि जित्नेलाई देश र जनताको पक्षमा राम्रो काम गर्न मतदाताको शुभेच्छा हुनुपर्छ। चिन्ताको विषय के हो भने पञ्चायतकाललाई छोडेर बहुदलकै कुरा गर्ने हो भने पनि ०४८ सालदेखि ०६४ सालसम्म भएका निर्वाचन प्रजातान्त्रिक प्रणालीबाटै भएका थिए। यी निर्वाचनबाट निर्वाचित जनप्रनिनिधिबाट पनि नेपाली जनताको मुहार उज्यालो बनाउने काम गर्न नसकेको भन्दै आमजनगुनासो आयो। गणतन्त्रपछि निर्वाचित नेताहरूले काम गरेको रबैयामा पनि खासै भिन्नता पाइएको महसुस हुन सकेन। यस हिसाबले नेपाली जनतामा आशा सञ्चार हुन सकेका छैन। एक हिसाबले जनता निराश नै छन् भन्दा हुन्छ।
यसरी अहिलेसम्म पीडामा पिल्सिएका नेपाली जनतालाई यो र त्यो भनेर हराउन र जिताउनुपर्ने रहर हुँदै होइन। केवल अहिलेसम्म नेताहरूले नेपाली जनतालाई भ्र्रमजालमा पारेर निर्वाचनको दिन मत लिएर जनतालाई धोका दिएर आफ्नो स्वार्थ सिद्धि गरेको परिणाम हो। नातावाद, कृपावाद र परिवारवादले ल्याएको गलत परिणाम हो। खुलायाम संस्थागत भ्रष्टाचारले नेपाली जनतालाई बनाएको उकुसमुकुस विरुद्धको प्रतिकार हो। भ्रष्टाचारमा डुबेर उठ्नै नसक्ने गरी नेपालको अस्तित्वमा लागेको प्र्रश्नवाचक चिह्नको चिन्ता हो। त्यसैले अबको निर्वाचनमा जसले जिते पनि नेताको निजी स्वार्थमा नभई नेपाल र नेपालीको सही अर्थमा काम गर्ने नेताको खाँचो छ। नेपाली जनताको सार्वभौम अधिकारलाई आत्मसात् गरेर अहोरात्र जनतालाई सधैँ सम्मान गरेर काम गर्ने नेता चाहिएको छ। भ्रष्टाचारको विरोधी, आजको विश्व बुझेको, दूरदृष्टि भएको साँच्चै इमानदार र नैतिकवान् नेता मुलुकले खोजेको छ। मुलुक र जनताप्रतिको यो दायित्व पूरा गर्नु मतदाताको कर्तव्य भएको छ।