• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री देउवाद्वारा अस्ताउँदो सूर्यको पूजा आराधना

blog

प्रधानमन्त्री शेरबहादुर देउवा आज साँझ थापाथलीस्थित बाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा छठी माताको पूजा गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं, कात्तिक १३ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्नुभएको छ। 

आइतबार थापाथली पुगी प्रधानमन्त्री देउवाले पूजा आराधना गर्नुभएको हो। सोही अवसरमा सर्वसाधारणले पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा अर्चना गरेका छन्। छठ पर्वका लागि थापाथलीस्थित बागमती नदी किनार झकिझकाउ पारिएको छ। आइतबार छठको मुख्य दिन देशभर अस्ताउँदो सूर्यलाई  अर्घ्य दिएर छठ पर्व मनाइँदै छ। 

सर्वसाधारणहरुले छठ पूजास्थल गएर सूर्यसहित छठी माताको पूजा आराधना एवं  अर्घ्य दान गरेका हुन्। देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन काठमाडौंलगायत देशका अन्य स्थानमा छठ घाट पनि सजाइएको थियो। 


कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी-गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ। आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्। बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ। 

छठको व्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्य पुराणलगायत ग्रन्थमा वर्णित छ। महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ। यसै विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।