• १२ असोज २०८१, शनिबार

सयपत्री फूलबाट लाखौँ रुपियाँ आम्दानी

blog

धनकुटामा किसानका बारीमा फूलेको सयपत्री फूल । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी  

धनकुटा, कात्तिक १३ गते । सयपत्री फूलबाट धनकुटाका किसानले लाखौँको आम्दानी गर्नुभएको छ । धनकुटा नगरपालिका ५ स्थित कर्मिटारमा बसोबास गर्दै आउनुभएका गोविन्द श्रेष्ठले सयपत्री फूलखेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । 

२०७६ बाट फूलखेतीबाट राम्रो आम्दानी हुने देखेसँगै फूलखेतीको सुरुआत गर्नुभएका श्रेष्ठले प्रत्येक वर्ष झैँ यस वर्ष पनि फूल बिक्री गरेरै चार लाख बढी आम्दानी गर्नुभएको छ छ । 

करिब तीन रोपनी क्षेत्रफल जग्गामा फूलखेती गर्दै आउनुभएका श्रेष्ठका अनुसार विभिन्न जिल्लाका व्यापारीहरू बारीमै आएर फूल किन्नेगरेका छन् । श्रेष्ठले लगाएको फूल यति वेला धरान, इटहरी, विराटनगर, काठमाडौं हुँदै विभिन्न ठूला सहरमा पुग्नेगरेको उहाँले बताउनुभयो ।    

बिशेषगरी तिहार आएसँगै ढकमक्क फुल्ने गरेको फूल भाइटीकामा आफ्ना दाजुभाइ, दिदीबहिनीका साथै घरका मुलढोका, कुकुर तिहारमा कुकुर पूजामा, लक्ष्मीपूजाको दिन गाग्री र कलसमा सजाउन, गाईपूजामा, छठमा, विभिन्न सङ्घ संस्थाका कार्यक्रममा फूलमालाको बढी खपत हुनेगरेको कृषकको भनाइ छ ।  

बजारको मागअनुसारको फुल भने उत्पादन गर्न नसकेको श्रेष्ठको भनाइ छ । यसपालिको तिहारमा भने जिल्लाका फूलखेती किसानले लगाएको फूल समयमै नफुल्नाले आफ्नो फूलले बजार पाएको उहाँको भनाइ छ । 

यस पटक २५ हजारको बीउबाट लाखौँको आम्दानी लिन पाउँदा फूलखेतीमा आफू सन्तुष्ट रहेको श्रेष्ठले बताउनुभयो । फूल खेतीतर्फ अन्य किसानको पनि आकर्षण बढेको उहाँको भनाइ छ । 

धनकुटामा फूल खेतीका लागि माटो, हावापानी राम्रो रहेकाले फूलबाटै आर्थिक समृद्धि हुने राम्रो सम्भावना रहेको उहाँले बताउनुभयो । सरोकारवाला निकायले फूलखेती किसानका लागि उन्नत जातको बिउ वितरण, रोग किरा नियन्त्रण सम्बन्धी तालिम, दक्ष प्राविधिकको व्यवस्थापनका साथै विभिन्न योजनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको माग छ । 

मेहनतअनुसारको उपलब्धि हासिल गर्न फुलखेतीबाट सहज हुने उहाँको भनाइ छ । जिल्लामा उहाँजस्ता थुप्रै फूलखेती किसानले फूलखेती गर्दै आउनुभएको छ ।