• १६ भदौ २०८१, आइतबार

दूध विक्री गरेर वार्षिक करोड आम्दानी

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक १३ गते । म्याग्दीको एउटै गाउँबाट वार्षिक रुपमा ३ करोड रुपियाँभन्दा बढीको दूध विक्री हुनेगरेको छ । बेनी नगरपालिका –४ सिंगा गाउँका किसानले व्यावसायिक रुपमा भैंसीपालनमार्फत दैनिक रुपमा करिब ७ सय पचास लिटर दूध विक्री गर्नेगरेका छन् । 

वैदेशिक रोजगारीबाट फर्किएका युवाले व्यावसायिक रुपमा भैंसीपालन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । दूध विक्रीबाट राम्रो आम्दानी हुन थालेपछि अन्य किसान पनि पशुपालनतर्फ आकर्षित भएको उहाँहरुको भनाइ छ ।  

स्थानीय तह लगायतका सरकारी निकायबाट पशुपालनका क्षेत्रमा अनुदान, सहुलियत, तालिम लगायतका कार्यक्रमले प्राथमिकता पाउन थालेपछि किसानहरु व्यावसायिक रुपमा पशुपालनतर्फ आकर्षित भएका हुन् । किसानहरुले कृषि सहकारी स्थापना गरी सामुहिक रुपमा दूध विक्री गर्दैआएका छन् । 

सिंगाको वास्कुना, पौडेल चोक र तातोपानी क्षेत्रका किसानले सामूहिक रुपमा कृषि सहकारीमार्फत विगत केही वर्षदेखि बेनीमा दूध विक्री गर्दैआएका छन् । सहकारीले गाउँका किसानबाट दैनिक रुपमा दूध सङ्कलन गर्ने गर्छ । सहकारीले धेरै थोरै भए पनि दूध खरिद गर्न थालेपछि कृषकलाई सहज भएको छ ।  

बास्कुना कृषि सहकारी संस्थाले दैनिक रुपमा २०० लिटर, शुभकामना बहुउद्देश्यीय कृषि सहकारीमा २०० लिटर, सिमलचौर बीउबिजन तथा कृषि सहकारी संस्थामा ३०० लिटर दूध दैनिक रुपमा सङ्कलन हुनेगरेको कृषकको भनाइ छ । साथै सिंगाको पौडेलचोकका कोपीलाल पौडेलले दैनिक रुपमा ५० लिटर दूध विक्री गर्दैआएको बताउनुभयो ।  

संकलन गरेको दूध बेनीमा खपत हुनेगरेको सहकारीका सचिव देवेन्द्रबहादुर बानियाँले बताउनुभयो । किसानको थोरै दूध पनि हामीले लिनेगरेका छौं बानियाँले भन्नुभयो ‘सहकारीले दूध संकलन गरी बजारसम्म लग्ने काम गर्न थालेपछि किसानले दूधको राम्रो मूल्य पाएका छन् ।’ सहकारीले दूधको गुणस्तर परीक्षण गर्न मिल्क एनालाइजर सफ्टवयर जडान गरेको छ । 

सहकारीले दूध खरिद गर्न थालेपछि आफूहरुलाई निकै सहज भएको सुर्केमेलाका कृषक चन्द्रबहादुर केसीले बताउनुभयो । दूध बोकेर बजार जानुपर्ने बाध्यता छैन केसीले भन्नुभयो ‘दैनिक रुपमा १३ देखि १५ लिटर दूध सहकारीलाई दिन्छु । दूधको गुणस्तरअनुसार मूल्य पनि राम्रो पाएका छौं । महिना मरेपछि रकम सहकारीले खातामा पठाइदिन्छ ।’

सिंगाका अगुवा किसान कोपिलाल पौडेलका अनुसार आफुले दैनिक रुपमा ४० लिटर दूध विक्री गर्ने गरेको बताउनुभयो । दूध विक्री गरेर मासिक रुपमा खर्च कटाएर करिब ६० हजार रुपियाँ आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । पौडेलका दुईवटा गाई र ७ वटा दुहुना भैंसी छन् । 

सहकारीमा ७० जना आबद्ध रहेका र हाल ४० देखि ५० जनाले सहकारीमा दूध ल्याउनेगरेका छन् ।  किसानले ल्याएको दूध दैनिक रुपमा सफ्टवयर मार्फत परीक्षण गरी रेकर्ड राखिने र अर्को महिनाको १० गतेभित्र किसानको खातामा पैसा पठाउने गरिएको शुभकामना बहुउद्देश्यीय कृषि सहकारी संस्थाका प्रबन्धक दीपक शर्माले बताउनुभयो । 

तातोपानीमा रहेको सिमलचौर बीउबिजन तथा कृषि सहकारी संस्थाबाट दैनिक रुपमा ३०० सय  लिटर दूध विक्री हुने संस्थाका सदस्य भविलाल कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीमा आबद्ध सदस्यबाट दैनिक रुपमा दूध सङ्कलन गरेर बेनी बजारमा विक्री हुनेगर्छ ।