• १६ भदौ २०८१, आइतबार

लमजुङमा एक कैदीको मृत्यु

blog

कारागार कार्यालय लमजुङ । तस्बिर : बेलिना थापा

बेलिना थापा

लमजुङ, कात्तिक १३ गते । लमजुङ सदरमुकाम बेँसीसरहमा रहेको जिल्ला कारागारका एक जना कैदीको मृत्यु भएको छ । शनिबार राति २ बजेतिर सास फेर्न गाह्रो भएपछि उपचारका लागि जिल्ला अस्पताल लमजुङ लगिएकोमा उपचारको क्रममा उहाँको निधन भएको कारागार प्रशासनले जनाएको छ ।

लमजुङ कारागारका प्रमुख ताराबहादुर तामाङका अनुसार दूधपोखरी गाउँपालिका १ देनस्वँरा (साबिक दूधपोखरी गाविस ३) का ३४ वर्षीय रोहनराज धितालको मृत्यु भएको हो । शनिबार साँझ खाना खाएर सुतेकोमा धितालले राति २ बजेतिर सास फेर्न गाह्रो भएको तामाङले बताउनुभयो । तत्काल जिल्ला अस्पताल लमजुङ लगिएकोमा उपचार सुरु गर्दागर्दै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘आपराधिक उपद्रव’ कसुरमा २०७८ वैशाख १७ गतेदेखि कारागारमा थिए । २०७८ वैशाख १२ गते प्रहरीले पक्राउ गरेको थियो । उहाँ विरुद्ध लमजुङ जिल्ला अदालतले २०७८ पुस २१ गते दुई वर्ष कैद भुक्तानको फैसला सुनाएको थियो । 

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले डाक्टरले कैदीको मृत्यु कुनै घटना दुर्घटनामा परेर नभएको र यसलाई प्राकृतिक भनेको बताउनुभयो । हृदयाघातत, रक्तचाप लगायतका कारण मृत्यु भएको हुनसक्ने चिकित्सकले अनुमान गरेको उहाँले बताउनुभयो । उहाँको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । कारागारमा महिला ५ जनासहित १ सय ३ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।