कोहलपुर, कात्तिक १३ गते । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तथा प्रतिनिधि सभा पदका लागि बाँके क्षेत्र नं. १ का उम्मेदवार महेश्वर गहतराज (अथक) यतिबेला आफ्नो गृहजिल्लामा हुनुहुन्छ । लामो समयदेखि रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रूपमा सम्पन्न गराए लगत्तै उहाँ गृहजिल्ला बाँके पुग्नुभएको हो ।
०७४ सालमा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सांसदका रूपमा उहाँ निर्वाचित हुनुभएको थियो । भौगोलिक र जनसङ्ख्याको हिसाबले जिल्लाकै सबैभन्दा ठूलाे निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै उहाँ पुनः दोस्रो पटक विजयी दौडमा हुनुहुन्छ ।
कोहलपुर नगरपालिका वडा नं. ५ स्थित भाडामा बस्दै आउनुभएका उहाँ प्रायः स्थानीयको घरआँगनमा भेटिन्छन् । सामान्य रूपमा चुनावी गतिविधि गरिरहेका उहाँले चुनावी सभालाई भन्दा बढी व्यक्तिगत भेटघाटलाई महत्त्व दिँदै आएको देखिन्छ । पाँच दलीय गठबन्धनबाट उहाँ साझा उम्मेदवार हुनुहुन्छ।
तीन वटा पालिका (कोहलपुर, राप्तीसोनारी र नरैनापुर) मिलेर बनेको बाँके निर्वाचन क्षेत्र नं. १ मा एक लाख २१ हजार १०० मतदाता रहेका छन् । उक्त निर्वाचन क्षेत्र भौगोलिक दृष्टिकोणले देशकै ठूलो निर्वाचन क्षेत्र मध्येको एक हो ।
आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर १ को विकास गर्दा पक्षपात नगरेर काम गरेको उहाँको भनाइ छ । “क्षेत्र नम्बर १ का विद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभूत आवश्यकता सडक, बिजुली, सिँचाइ, खानेपानी, पुल पुलेसा, कटान तथा डुबान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन्” उहाँले भन्नुभयो ।
उहाँले मुलुकप्रतिको ईमान्दारिता सबैभन्दा ठूलो कुरा भएकाले राष्ट्रियता र संविधानको रक्षाकालागि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै आउनुभएको छ ।