• १६ भदौ २०८१, आइतबार

प्रत्येक पालिकामा प्राविधिक शिक्षाको व्यवस्थापन गर्ने घोषणा

blog

घोषणा पत्र सार्वजनिक गर्दै एमाले नेताहरु । तस्बिर – नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, कात्तिक १४ गते । नेकपा एमाले बागलुङले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए जिल्लाका सबै स्थानीय तहमा प्राविधिक क्याम्पस स्थापना गर्ने घोषणा गरेको छ । 

विपन्न नागरिकका छोराछोरीले आफ्नै गाउँ घरमा बसेर प्राविधिक शिक्षा पढ्न पाउने र जिल्लामा प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ दश वटै स्थानीय तहमा प्राविधिक तथा इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने घोषण गरेको हो । 

दुई प्रतिनिधिसभा र तीन प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएको नेकपा एमालेले प्रत्येक स्थानीय तहलाई समेट्ने गरी एक÷एक ओटा बहु प्राविधिक शिक्षालय सञ्चालन, धौलागिरि बहुमुखी क्याम्पसलाई नयाँ र प्राविधिक विषय पढाई हुने गरी विश्वविद्यालयमा परिणत तथा गलकोट बहुमुखी क्याम्पस, निसीभुजी जनता क्याम्पस, शान्तिदीप बहुमुखी क्याम्पस, भीमसेन क्याम्पस, सर्वोदय क्याम्पसमा स्तातकोत्तरसममका कक्षा सञ्चालन तथा तमानखोला, ताराखोला, निसीखोला र बडिगाड गाउँपालिकामा एक/एक वटा क्याम्पस सञ्चालन गर्ने घोषण गरेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ खण्डमा बाँकी रहेको सडक तत्काल कालोपत्रे गर्न पहल गर्ने, प्रत्येक गाउँ र नगरपालिकाको केन्द्रदेखि सबै वडामा सडक सञ्जाल विस्तार गर्ने, बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा आयात निर्यात केन्दै र बागलुङ बजार, पैयुँपाटा, कुश्मिसेरा, खहरे, अक्षेते, बिउँ, सुल्डाँडा, रिजालचोक, हटिया, खरवाङ, बुर्तिवाङ क्षेत्रलाई व्यापार केन्द्रको रूपमा विकास गर्न व्यवस्थित सहरकिरण तथा पूर्वाधार विकास गर्न जोड्दिने एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र न १ (क) का संयोजक इन्द्रलाल सापकोटाले बताउनुभयो । 

बागलुङ बजार–कुँडुले त्रिपतिचोक–मालिका–तितौरा–खोलाखेत–न्वार–सिगाना तित्याङ–भकण्डे–भकुण्डे–रायडाँडा–अमलाचौर–पैयुपाटा, नारायणस्थान हुँदै बागलुङ बजारसम्मको चक्रपथ निर्माण गरिने घोषण पत्रमा उल्लेख छ । पञ्चकोट, भकुण्ड, घुम्टेको धुरी लगायतका पर्यटकीय क्षेत्रमा केबलकार तथा फिल्म सुटिङ सेन्टर निर्माण गर्ने घोषणा गरिएको छ । 

स्वास्थ्यतर्फ बागलुङ नगरपालिकामा एउटा मेडिकल कलेज र अन्य स्थानीय तहमा विशेषज्ञ सेवासहितको अत्याधुनिक सुविधायुक्त अस्पताल निर्माण गर्ने घोषणा गरिएको छ ।