• २ माघ २०८१, बुधबार

टी–२० विश्वकप

बंगलादेशको रोचक जित

blog

जिम्बावेलाई हराएपछि बंगलादेशका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौं, कात्तिक १३ गते । बंगलादेशदले अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा जिम्बावेमाथि रोचक जित निकालेको छ । ब्रिस्बेन क्रिकेट मैदानमा आइतबार भएको खेलमा बंगलादेशले जिब्बावेलाई तीन रनले हरायो । 

जितका लागि एक सय ५१ रनको लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४७ रन बनायो । जिम्बावेका लागि सेन विलियम्सले ६४ रन बनाउनुभयो । रयान बर्लले अविजित २७ र रेजिस चकभाले १५ रन बनाउनुभयो ।

बलिङमा बंगलादेशका तस्किन अहमदले तीन विकेट लिनुभयो । मुश्ताफिजुर रहमान र मासाद्देक हसनले दुई दुई विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५० रन बनाएको थियो ।

बंगलादेशका लागि नाज्मुल हसन सान्टोले सर्वाधिक ७१ रन बनाउनुभयो । सकिब अल हसन २३, अफिफ हुसैनले २९, लिटन दासले १५ रन बनाउनुभयो । बलिङमा जिम्बावेका ब्लेसिङ मुर्जाबानी र रिचर्ड न्गरावले दुई दुई तथा  सिकन्दर राजा र सेन विलियम्सले एक एक विकेट लिनुभयो ।

जितसँगै समूह ‘बी’ मा रहेको बंगलादेश दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेशले तीन खेलबाट चार अङ्क बनाएको छ । तीन अङ्क बनाएको जिम्बावे चौथो स्थानमा छ । चार अङ्क बनाएको भारत रन रेटका आधारमा शीर्षस्थानमा छ ।

तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको दुई खेलबाट तीन अङ्क छ । पाकिस्तान र नेदरल्यान्ड्सले अङ्कको खाता खोल्न सकेका छैनन् । एजेन्सी