• १९ असोज २०८१, शनिबार

जनतालाई आर्थिक परिवर्तन र सुशासन दिन सकेनौँ : अध्यक्ष दाहाल

blog

काठमाडौंमा सोमबार आयोजित बागमती प्रदेश स्तरीय संयुक्त भेलालाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल । तस्बिरः रोशन सापकोटा/रासस

काठमाडौं, कात्तिक ७ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताउनुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले हरेक सफल क्रान्तिपछिका १०–१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्था र सुशासन दिन नसक्नु प्रमुख कारण रहेको बताउनुभएको हो ।

राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरूले जनताका एजेण्डालाई प्रमुख बनाउन नसक्दा सुशासन कायम हुन नसकेको अध्यक्ष दाहालको भनाइ छ ।

उहाँले ठूला परिवर्तन भएको १०/१५ वर्षपछि राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरु बिस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले अहिले पनि अनेकथरी मानिसहरू राजनीतिक दल र नेताहरूलाई गाली गर्दै आइरहेको भन्दै उनीहरू देशलाई पुनः अन्धकारको सुरुङतिर लैजान लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘राजनीतिक आन्दोलनले परिवर्तनलाई ल्याएका पनि छन् । चाहे ७ सालको कुरा गरौँ, चाहेँ ४६ सालको कुरा गरौँ । वा ३६ साल वा २०६२/०६३ सम्म आउँदाको क्रान्तिको कुरा गरौँ । यी सबै ठूला परिवर्तन सम्भव भए । तर ठूला परिवर्तन भएको १०/१५ वर्ष बितेपछि त्यो राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरु बिस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको छ । अहिले पनि २०६२/०६३ को क्रान्तिपछि नै एकथरी मानिसले पार्टी र नेताहरूलाई गाली गर्ने र अर्कै दिशातिर अन्धकारको सुरुङतिर देशलाई लैजाने त्यस्ता मानिस छन्, निरङ्कुशता र सामन्तवादका पक्षधर छन् ।’’

अध्यक्ष दाहालले राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन एवम् सुशसाको प्रत्याभूति जनतालाई दिलाउन नसक्नुले देश अस्थिरतामा गइरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु भएपनि जनतालाई त्यसमा समावेश गरी क्रान्तिलाई सफल बनाउने कुरामा कमजोर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन र गुड गभर्नेन्स, सुशसाको प्रत्याभूति हामीले जनतालाई दिलाउन सकेनौँ । सुशासनको निम्ति कर्मचारीतन्त्रमा गर्नुपर्ने सुधार, ऐन, कानुनमा गर्नुपर्ने त्यही अनुसारका संशोधनहरू, नयाँ ऐन, कानुनहरू बनाउने प्रक्रिया जनताको जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भयो भन्ने अनुभूति दिलाउने योजना र भिजन र मिसनको कमी भयो । राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु तर जनतालाई त्यसमा समावेश गरी क्रान्तिलाई सफल बनाउने कुरामा कमजोर भएकै हो । हामीमा त्यो इच्छाशक्ति देखिन सकेन । त्यहाँ अन्तर्विरोध भयो । त्यसकै कारणले जहिले पनि देश राजनीतिक अस्थिरतामा गयो ।’’

अध्यक्ष दाहालले अहिलेको गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धि चाहेको बताउनुभयो । उहाँले स्थिरता र समृद्धि बिना संविधानको रक्षा हुन नसक्ने पनि जिकिर गर्नुभयो । उहाँले देशमा सुशासन कायम गर्न कर्मचारीतन्त्रमा सुधार गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।