• २ असार २०८१, आइतबार

हाम्रो प्रतिस्पर्धी एमाले हो : अध्यक्ष लिङदेन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुन्छ, अरू दलसँग हाम्रो प्रतिस्पर्धा नै होइन उहाँले थप्नुभयो, “नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरू एक सयभन्दा तलको सिटमा खुम्चिसकेका छन्, उहाँहरूसँग हाम्रो प्रतिस्पर्धा नै होइन ।” 

आगामी निर्वाचनमा पनि पटक पटकको नेतृत्वमा असफल भइसकेका पार्टीलाई भोट हाल्ने हो भने नागरिकहरूले नै दुः ख पाउने अध्यक्ष लिङ्देनले बताउनुभयो । कांग्रेस र माओवादी लगायतका दलहरूका मतदाताहरू अहिले राप्रपाको सक्रियता खोजिरहेको उहाँको भनाइ छ ।

कांग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने उहाँको दाबी छ । 

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने विश्वास व्यक्त गर्नुभयो । देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीले यस पटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको उहाँको भनाइ छ । एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हीनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताउनुभयो ।