• २ असार २०८१, आइतबार

प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ६ गते । गृहमन्त्री बालकृष्ण खाणले सक्षम प्रहरी सङ्गठनका लागि आवश्यक तालिम दिई प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

गृहमन्त्री खाणले तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधलाई परिणाममुखी बनाउन सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

गृहमन्त्री खाणले कानुनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी सङ्गठनलाई निर्देशन  दिनुभयो । आफ्नो जिम्मेवारीलाई पूर्ण पालना गरी कानुनी राज्यको प्रत्याभूति दिन प्रहरी जवानलाई निर्देशन दिनुभयो । गृहमन्त्री खाणले प्रविधिबाट सिर्जित नवीन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित स्रोत, साधनले मात्र सम्भव हुने भन्दै प्रविधिमैत्री प्रहरीलाई अनुकूल हुने वातावरण निर्माणमा स्रोत, साधनको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘तालिमका बेला तपाईँहरूले बगाउनुभएको पसिनाले भोलिका दिनमा फिल्डमा देखिने हरेक समस्या र चुनौतीको समाधानमा सफल हुनुहुनेछ ।’ तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधलाई परिणाममुखी बनाउन सफल हुनुहुनेछ भन्ने अपेक्षा गरेको छु उहाँले भन्नुभयो । 

नेपाल प्रहरीका तालिम आवश्यकता अनुरूप बजेट विनियोजन हुँदैआएको छ । चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न सङ्गठनले थप नयाँ तालिमको महसुस गरेमा त्यसमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहेको उहाँले बताउनुभयो । कानुनी राज्यको स्थापनाका लागि दृढ रहन गृहमन्त्री खाणले निर्देश गर्नुभयो । आफ्ना जिम्मेवारीलाई पूर्ण पालना गरी कानुनी राज्यको प्रत्याभूति दिन निर्देशन दिन्छु उहाँले भन्नुभयो । 

प्रविधिबाट सिर्जित नवीन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित स्रोत, साधनले मात्र गर्नसक्छ । नेपाल सरकार र गृह मन्त्रालय प्रविधिमैत्री प्रहरीलाई अनुकूल हुने वातावरण निर्माणका लागि स्रोत, साधनको व्यवस्थापनमा सहयोग गर्दैआएको उहाँको भनाइ छ । प्रहरीको आधुनिकीकरण र प्रविधिकरण नेपाल सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।