• १३ साउन २०८१, आइतबार

जसले घर बनाइदिन्छ उसैलाई मत

blog

लहान समाचारदाता 

लहान, कात्तिक ६ गते । अव्यवस्थित रूपमा बसोबास गर्दै आइरहेका मुसहर समुदायले आफ्नो मागबमोजिम व्यस्थित बस्ती बनाइदिने प्रतिबद्धता गर्ने उम्मेदवारलाई मत दिने बताएका छन्।

 जमिन र घर निर्माण गरी दिने दलका उम्मेदवारलाई मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको लागि मत दिइने मुसहर समुदायका अगुवाले बताएका छन्। पुस्तौँदेखि लहान–१ र २ का मुसहर समुदाय नदीको किनार र सडकको पेटीको ऐलानी जग्गा बसोबास गर्दै आएका छन्। 

लहान–१ का स्थानीय बासिन्दा गेना सदायले आफ्नो कुरा सुनाउँदै भन्नुभयो, “यसभन्दा अगाडिका चुनावहरूमा दलित, मुसहर बस्तीलाई व्यस्थित गर्ने आश्वासन धेरै पटक धेरै नेताले बाँड्नुभयो तर अहिलेसम्म हाम्रो समस्या कसैले पूरा गर्न सकेन। हाम्रा पीडा ज्यूँ का त्यूँ नै छन्। अब कसलाई भोट दिएर पनि के हुन्छ जस्तो लागेको छ। 

उहाँले अगाडि भन्नुभयो, ‘‘बाढीको समयमा नहर किनारको पानी घरभित्र पस्छ। बर्खा, हिलो र हिउँदमा धुलो खाएर बस्नुपर्छ। सुक्खा समयमा चल्ने सवारीसाधनले मुसहर समुदायका बालबालिका दुर्घटनामा पर्ने गरेका छन्। बस्ने घर छैन। दलित बस्तीको बासिन्दाले यस पटक मदिरा र नगदको प्रलोभनमा नपर्ने निर्णय गरेका छन्। मुसहर समुदायको पीडा सम्बोधन गर्नेलाई मुसहर समुदायले मतदान गर्नेछन्।’’  

२०४५ सालतिर तत्कालीन लहान नगर पञ्चायतका प्रधानपञ्च लगनलाल चौधरीले जग्गा खरिद गरेर बसाइदिएको मुसहर बस्तीमा जनसङ्ख्या बढेर बस्न नसक्ने अवस्था भएपछि नहर तथा सडकको किनारमा बस्नुपर्ने बाध्यता रहेको स्थानीय मुसहर समुदायका अगुवा रामनिवास सदायले बताउनुभयो। 

उहाँका अनुसार पाँच वर्षमा एक पटक घरदैलो र बस्तीमा आइपुग्ने नेताहरूसँग सुरक्षित र व्यवस्थित बस्तीको माग प्राथमिकताको साथ मुसहर समुदायले उठाउने भएको छ। 

दलित अगुवा मोहन पासवानका अनुसार दलित समुदायमा सबैभन्दा पछि परेका मुसहर समुदाय मधेशका रैथाने भए पनि अहिलेसम्म नागरिकता छैन। 

उहाँले भन्नुभयो, मधेश आन्दोलनपछि नागरिकता टोली आउँदा कति भारतीयहरूले नेपाली नागरिकता लिइसके तर मुसहर समुदायलाई न नागरिकता न बस्न घर छ। समस्यै समस्यामा रहेको छन्। शिक्षा, स्वास्थ्य, आवास र रोजगारको प्रत्याभूति दिलाउने दलका उम्मेदवाहरूलाई मतदान गर्न दलित समुदायहरू यतिबेला हरेक टोलमा बस्तीमा छलफल गरिरहेका छन्। 

मुसहर समुदायलाई लहान नगरपालिकाभित्र मात्रै होइन, जिल्लाभरि नै आवासको समस्या छ। यस विषयमा दलित अगुवाहरू लोभप्रलोभन र दबाब नपरी माग सम्बोधन गर्ने र घोषणापत्रमा दलित गरिबको लागि व्यक्त प्रतिबद्धता पूरा गर्नेलाई मत दिनुपर्ने दलित अभियानकर्मी निर्मला पासवानले बताउनुभयो। 

आफ्नो न्यायिक माग पूरा गराउन गरिब, दलित समुदायले आवाज उठाउनुपर्ने मानव अधिकारवादी राजकुमार राउतले तर्क गर्दै भन्नुभयो, यस पटकको निर्वाचनमा मतदाताहरूमा सचेतना आएको छ। आफ्ना समस्या सम्बोधन गर्न सक्ने नेतालाई मत दिने विश्वास गरिएको छ। 

सिरहाको चारवटै निर्वाचन क्षेत्रमा दलित मतदाताहरू निर्णायक रहेकोले यस पटक मतको सदुपयोग होस् भन्ने उद्देश्यले दलित बस्तीका मतदाता सचेत हुँदै आएका छन्।