• १३ साउन २०८१, आइतबार

पुरानो हाटबजार अतिक्रमणको चपेटामा

blog

रौतहट समाचारदाता

रौतहट, कात्तिक ६ गते । रौतहटको पुरानो तथा ठूला बजारमध्येको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर हाटबजार अतिक्रमणको चपेटामा परेर साँघुरिदै गएको छ। 

अतिक्रमणको कारण झन्डै डेढ बिघा (२९ कट्ठा) क्षेत्रफल रहेको सरकारी जमिनमा लाग्दै आएको हाटबजार साँघुरिएर अहिले १४ कट्ठा क्षेत्रफलमा सीमित हुनपुगेको छ। 

झन्डै ५० वर्षदेखि लाग्दै आएको सो हाटबजार साँघुरिदा व्यापारी बाटोमै व्यापार गर्न बाध्य छन् भने बजार लाग्ने दिन सवारीसाधन आवागमन ठप्प हुने गरेको छ। बजार लाग्ने सरकारी जमिन अतिक्रमण हुँदा स्थानीय निकायले कुनै वास्ता नगरेको नगरवासीको गुनासो छ। नगरपालिकाको वडा नं. ६ मा सोमबार र शुक्रबार हाटबजार लाग्ने गरेको छ। 

वडाध्यक्ष सहदेव केसी भन्नुहुन्छ, “सम्भवतः यो जिल्लाकै ठूलो व्यापारिक हाटबजार हो। अतिक्रमण भएको क्षेत्र खाली गराउन सके बजार झनै व्यवस्थित हुने थियो तर यो चुनौतीको विषय बनेको छ।” 

जिल्लाकै पुरानो हाटबजार लाग्ने उक्त क्षेत्रफलको जमिनमा स्थानीय ३० जना व्यापारीले कब्जा जमाएका थिए। तीमध्ये १५ जना व्यापारीलाई तत्कालीन चन्द्रनिगाहपुर गाउँ विकास समितिले अन्यत्र जग्गा उपलब्ध गराई बसोबास गराएको थियो तर बाँकी रहेकालाई भने हटाउन सकेको छैन। पूर्ववडाध्यक्ष खड्गबहादुर कुशुवारले अतिक्रमणकारीलाई हटाउन प्रयास गर्नुभएको थियो तर उहाँको एकल प्रयास त्यतिबेला सफल हुन सकेन। 

क्षेत्रफल साँघुरिएको कारण अव्यवस्थित बनेको सो बजारमा स्थान अभावले गर्दा स्थानीय कृषकले उब्जाएका सागसब्जी, फलफूल र अन्नबाली बाटोमै राखेर बिक्री गर्नु पर्ने बाध्यता रहेको बताउँदै चन्द्रपुर–६ का किसान कोशल्यादेवी चौधरीले बजारमा यातायात सञ्चालन ठप्प हुँदा ढुवानीमा समेत समस्या भएको दुखेसो गर्नुभयो।  

केही समयअघि बजार व्यवस्थापनको जिम्मा पाउनुभएका बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामबहादुर घलानले बजारको २९ कट्ठा जमिनमध्ये अहिले १४ कट्ठा मात्र बाँकी रहेको बताउनुभयो।

उहाँका अनुसार कित्ता नं. १०५ को २९ कट्ठा सो सरकारी जमिन हाल वृन्दावन नगरपालिका (साबिक विश्रामपुर गाविस–९की सिबियादेवी बैठाले भूमाफियाको संरक्षणमा २०४९ सालमा आफ्नो नाममा पास गराउनुभएको बताइएको छ। त्यसको १७ वर्षपछि चन्द्रनिगाहपुर गाविसको पहलमा जमिन फिर्ता भएको थियो तर पनि जमिन खाली गराउन कसैले पनि पहल गरेको छैन।

चन्द्रपुर नगरपालिकाको स्वामित्वमा रहेको अतिक्रमित सो बजारको जमिन खाली गराउन कार्यपालिकाले ३५ दिने सूचना प्रकाशन गरेको समयअवधि समाप्त भइसक्दा पनि जमिन खाली हुन सकेको छैन। नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले चाडबाडको समय भएकोले अतिक्रमित जमिन खाली गराउन समस्या परेको तर चाडबाड सकिनासाथ सोको कार्यान्वयन हुनेछ।