• १३ साउन २०८१, आइतबार

तिहार लागेपछि भेट्न छाडे मतदाता

blog

ललिता साह

वोदेवसाईन (सप्तरी), कात्तिक ५ गते । तिहार, नेपाल संवत् तथा छठ पर्वका लागि मानिसहरु शहरबाट गाउँको घर र बजारबाट गाउँ झर्न थालेपछि मङ्सिर–४ मा हुन गइरहेको निर्वाचनमा होमिएका उम्मेदवारलाई घरदैलोमा मतदाता भेट्न समस्या भएको छ । 

सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुभएका उम्मेदवार, नेता र कार्यकर्ताहरु घरदैलोमा मत माग्नमा व्यस्त भए पनि पछिल्लो समय सुस्ताउनुभएको छ । वर्षपछि आउने चाडपर्वलाई बढी महत्व दिनुपर्ने सप्तरी प्रतिनिधिसभा क्षेत्र नं २ को (क) बाट उम्मेदार रहनुभएका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मण यादवको बुझाइ छ ।

शुक्रबार सप्तरीको प्रतिनिधिसभा क्षेत्र ४ को सुरुङ्गा नगरपालिका मलहन गाउँमा घरदैलोका लागि पुग्नुभएका पाँचदलीय गठबन्धनका उम्मेदवार तेजुलाल चौधरी तथा प्रदेश सभाका गोविन्द न्यौपानेलाई घरमा मतदाता नभेटेपछि वडा कार्यालयसँग समन्वय गरेर आफ्ना चुनाबी घोषणा केही व्यक्तिहरुलाई सुनाएर फर्किनुपरेको थियो ।

गाउँमा मान्छे भए पनि दीपावली र छठको तयारीमा जुटेका छन् । महिला घरको लिपपोतका लागि माटो ल्याउन र सरसफाइमा जुटेका छन् । उम्मेदवारहरु गाडी लिएर गाउँघरमा मत माग्न पुगे पनि मतदातालाई नेताहरुसँग भेट्न फुर्सद नभएको मतदाताहरुको भनाइ छ । 

दीपावलीका लागि माटोको दियो बनाउन र बेच्न व्यस्त स्थानीय कमली पंडितले भन्नुभयो, “चुनावको दुई महिना अगाडिदेखि नै अलग अलग दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार घरदैलोमा आउने गरे पनि अहिले चाडपर्वका बेला आफूहरु व्यस्त रहेकाले समय दिन सकेका छैनौं ।”

अस्ति भर्खर भोट दिएको र फेरि भोट माग्न आउने मानिस देखे पनि निर्वाचनबारे आफूलाई खासै जानकारी नभएको तिलाठी कोइलाडी गाउँपालिका –७ की  ७९ वर्षीया ठकनी यादवले बताउनुभयो ।  गत असोज २३ गते मनोनयन दर्ता पश्चात निर्वाचन आयोगले जारी गरिएको आचारसंहिताको पालना गर्दै उम्मेदवारहरु मतदाताका घरमा मत माग्न व्यस्त रहेको बताएका छन् ।

सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार उम्मेदवार तथा मतदाता सबैले निर्वाचन आचारसंहिता पालना गर्नुपर्छ ।