• १३ साउन २०८१, आइतबार

सामान्यभन्दा संवेदनशील मतदान स्थल बढी

blog

प्रकाशविक्रम शाह/अविनाश चौधरी

धनगढी, कात्तिक ५ गते । सुदूरपश्चिम प्रदेशका एक हजार १६१ मतदान स्थलमध्ये ४०५ मतदान स्थल भौगोलिक तथा सुरक्षाका हिसाबले सामान्य अवस्थामा छन् । सुदूरपश्चिमका ३५२ मतदान स्थल अति संवेदनशील र ४०४ संवेदनशील छन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भौगोलिक अवस्था, सुरक्षा चुनौतीलगायतका आधारमा सुरक्षा निकायले मतदान स्थललाई वर्गीकरण गरेको छ । ३२ वटा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ७१० अति संवेदनशील, ७७८ संवेदनशील र ६५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

सामान्यभन्दा संवेदनशील मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या बढी रहेको यो प्रदेशमा  संवेदनशीलताअनुसार निर्वाचनमा सुरक्षाकर्मी खटाइने जनाइएको छ । तर, सुरक्षाकर्मी के, कसरी र कति सङ्ख्यामा खटाइने भन्ने निक्र्योल कात्तिक ५ गते मात्रै गरिने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिनुभयो । 

प्रदेश प्रहरी कार्यालयका अनुसार २३७ मतदान स्थल रहेको कैलालीमा ५३ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यस्तै १३१ मतदान स्थल संवेदशनील र ५३ मतदान स्थल सामान्य रहेका छन् । यो जिल्लामा ६२९ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये १५८ अति संवेदनशील, ३४४ संवेदनशील र १२७ मतदान केन्द्र सामान्य रहेका छन् ।  कैलाली प्रदेशमै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको यो जिल्लामा पाँचवटा निर्वाचन क्षेत्र कायम छ । 

यस्तै तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कायम भएको १३२ मतदान स्थलमध्ये ६६ वटा अति संवेदनशील, २६ वटा संवेदनशील र ४० वटा मतदान स्थल सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यो जिल्लामा ३४६ वटा मतदान केन्द्र छन् । तीमध्ये १८५ अति संवेदनशील, ७३ संवेदनशील र ८८ वटा मतदान केन्द्र सामान्य छन् । 

भौगोलिक रूपमा विकट बाजुरामा ७० वटा मतदान स्थल कायम गरिएको छ । यो जिल्लामा सामान्य मतदान स्थल जम्मा चारवटा मात्रै छन् । ४३ मतदान स्थल अति संवेदनशील र २३ मतदान स्थल संवेदनशील रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बाजुरामा १२२ मतदान केन्द्र छन् । तीमध्ये ७० मतदान केन्द्र अति संवेदनशील, ३५ संवेदनशील र सात मतदान केन्द्र सामान्य रहेका जनाइएको छ । स्थानीय तहको निर्वाचनमा विवाद भएपछि यो जिल्लाको बूढीगङ्गा नगरपालिकामा दोस्रो पटक मतदान भएको थियो । 

यस्तै १०१ मतदान स्थल रहेको डडेल्धुरामा २३ मतदान स्थल अति संवेदनशील, ४१ वटा संवेदनशील र ३७ वटा मतदान स्थल सामान्य छन् । यो जिल्लामा १३९ मतदान केन्द्र कायम भएको छ । तीमध्ये ३९ वटा मतदान स्थल अति संवेदनशील, ५७ वटा संवेदनशील र ४३ वटा सामान्य छन् । 

बझाङमा १३५ मतदान स्थलमध्ये ५६ वटा अति संवेदनशील, ५८ संवेदनशील र २१ मतदान स्थल सामान्य छन् । भौगोलिक विकटता रहेको यो जिल्लामा १८४ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये ८३ मतदान केन्द्र अति संवेदनशील, ७५ वटा संवेदनशील र २६ मतदान केन्द्र सामान्य छन् । 

११५ मतदान स्थल रहेको डोटीमा नौवटा अति संवेदनशील, ३० संवेदनशील र ७६ वटा मतदान स्थल सामान्य छन् । यो जिल्लामा १७७ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये ११ वटा अति संवेदनशील, ४८ संवेदनशील र ११८ वटा मतदान केन्द्र सामान्य छन् । 

यसैगरी अछाममा १३० मतदान स्थलमध्ये ६० वटा अति संवेदनशील, ५० वटा संवेदनशील र २० वटा मतदान स्थल सामान्य छन् । यो जिल्लामा २०८ वटा मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये ९७ वटा अति संवेदनशील, ८० वटा संवेदनशील र ३१ सामान्य छन् । भौगोलिक अवस्थाअनुसार विकट अछाममा पनि अति संवेदनशील र संवेदनशील मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या बढी रहेको छ । बैतडीमा १२९ मतदान स्थल छ । तीमध्ये ३१ वटा संवेदनशील, ३४ वटा संवेदनशील र ६४ वटा मतदान स्थल सामान्य छन् । त्यस्तै  २१० मतदान केन्द्रमध्ये ५४ वटा अति संवेदनशील, ५२ संवेदनशील र १०४ वटा मतदान केन्द्र सामान्य रहेका छन् ।  

यसैगरी ११२ मतदान स्थल रहेको दार्चुलामा ११ वटा अति संवेदनशील, ११ वटा संवेदनशील र ९० वटा मतदान स्थल सामान्य छन् । यो जिल्लामा १४१ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये १३ वटा अति संवेदनशील, १४ वटा संवेदनशील र ११४ वटा मतदान केन्द्र सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।