पञ्चक तीन किसिमका हुन्छन् । नक्षत्रपञ्चक, भीष्मपञ्चक र यमपञ्चक । नक्षत्रपञ्चक र भीष्मपञ्चकको सन्दर्भ अहिले परेन । यमपञ्चक कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइन्छ । यमपञ्चक सुरु हुनु अघिल्लो दिन गाईबस्तुलाई ख्वाउन धान, मकै, गहुँ, जौ आदि अन्न मिसाएर पिँडो भुट्ने चलन पनि कतै कतै छ । भुटेको यो पिँडो गाईपूजा गर्दा ख्वाइन्छ ।
यमपञ्चकको पहिलो दिन अर्थात् त्रयोदशीको बेलुका यमदीपदान सुरु हुन्छ । यस दिनलाई धनत्रयोदशी वा धनतेरस र भाँडाकुँडा किन्ने दिन भएकाले भाण्ड त्रयोदशी पनि भनिन्छ । यम हाम्रो जीवनसँग पनि सम्बन्धित छन् । उनी राम्रो काम गर्नेलाई धर्मराज र नराम्रो काम गर्नेलाई यमराज हुन्छन् । यमसँग बढी सम्बन्धित भएको हुनाले तिहारका पाँच दिनलाई यमपञ्चक भनिएको हो । परिवारमा जति पनि सदस्य छन्, तिनको नाम लिएर दक्षिणतर्पm फर्केर यमदीपदान गर्नुपर्छ । यसो गर्नाले परिवारमा सुख, शान्ति र पारलौकिक सद्गति पनि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । त्रयोदशीकै दिन काग तिहार पर्छ । यसपालि काग तिहार आइतबार मनाइँदै छ । कागलाई यमदूत मानिन्छ । काग यमलोक र मत्र्यलोक दुवै ठाउँमा उडेर पुग्छ भनिन्छ । त्यसैले लोकमा भएको शुभसन्देश लिएर जाओस् भनेर ‘काक बलि’ दिने गरिन्छ । कागलाई दही र भात धेरै मन पर्छ भनिएको छ ।
चतुर्दशीका दिनलाई भने नरक चतुर्दशी भनिन्छ । यस दिन बिहानै नर्के नुहाइन्छ । नर्के नुहाउन धारा, पोखरी, कुवामा गइन्छ । किसिम किसिमका टपरीमा यमराजलाई बत्ती बालिन्छ । विशेषगरी महिलाले नर्के नुहाउने चलन छ । शरीरमा तिलको तेल लगाएर नर्के नुहाउनुपर्छ भनिएको छ । तिलको तेलले स्वास्थ्य ठीक हुन्छ, छालाको रोग लाग्दैन भन्ने मान्यता रहिआएको छ । चतुर्दशीकै दिन कुकुर तिहार पर्छ । कुकुरलाई पूजा गर्नु भनेर त शास्त्रमा लेखिएको छैन तर ‘स्वान बलि’ भनेर कुकुरलाई जे खान मन पर्छ, त्यो चाहिँ दिनु भनिएको छ । यसो किन गरिएको भन्दा श्याम र सबल भन्ने कुकुर यमलोकको द्वारमा दुईतिर बस्छन् । यमलोकमा सबै जीवले जानुपर्छ भन्ने छ । यमराजको सान्निध्यमा जाँदा यी कुकुरले दुःख नदिऊन् भनेर ‘स्वान बलि’ दिइएको हो । त्यसो त कुकुरलाई पनि यमदूत नै मानिएको छ । चतुर्दशीमा यम तर्पणका कुरा पनि छन् । यी सबै शास्त्रीय कुरा हुन् । यमराजलाई प्रसन्न पार्नकै लागि गरिएका हुन् ।
गृहस्थाश्रममा बसेकाहरूलाई शक्ति चहिन्छ, विद्या चहिन्छ र धनसम्पत्ति पनि चाहिन्छ । गृहस्थाश्रममा बसेकालाई यी तीनवटा कुरा नभई हुँदैन । सन्त, महन्त, महात्मालाई यी कुरा चाहिँदैन । उनीहरू परमार्थको चिन्तन मनन गरेर बस्छन् भन्ने छ । धन प्राप्तिका लागि भने लक्ष्मीलाई खुसी पानुपर्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीलाई खुसी पार्न विधिपूर्वक र रामरमिताका साथ लक्ष्मीको पूजा र दीपमालिका गरिन्छ । कहिले चतुर्दशीका दिन त कहिले भोलिपल्ट औँसीका दिन लक्ष्मी पूजा पर्छ । यस पटक सूर्य ग्रहणका कारण चतुर्दशीकै दिन अर्थात् सोमबार नै परेको छ लक्ष्मी पूजा र दीपमालिका ।
लक्ष्मी पूजा गर्न घरआँगन सफा गर्नुपर्छ । रातोमाटो र गाईको गोबरले लिपपोत गर्नुपर्छ । जति राम्रो र रमणीय बनायो, त्यति लक्ष्मी प्रसन्न हुन्छिन् भन्ने छ र यो आर्यावर्त क्षेत्रको चलन पनि हो । त्यसैले लक्ष्मीको पूजा गर, लक्ष्मीको आराधना गर, लक्ष्मीको उपासना गर, लक्ष्मीको वन्दना गर भन्ने शास्त्रीय मान्यता नै हो । मूलढोका बाहिरबाट लक्ष्मीको हिँड्ने पाइला बनाएर लक्ष्मी पूजा गर्ने कोठासम्म लैजाने चलन छ । यसक्रममा आँगनमा कसैले स्वस्तिक बनाएका हुन्छन्, कसैले अष्टदल बनाएका हुन्छन् । अनि बडो श्रद्धा, आस्था, विश्वासका साथ लक्ष्मीको पूजा गरिन्छ । पूजा गर्नुभन्दा पहिले दीपमालिका वा दीपावली गर्नुपर्छ । जति उज्यालो भयो, त्यति लक्ष्मी प्रसन्न हुन्छिन्, घरमा आउँछिन् भन्ने विश्वास छ । लक्ष्मी पूजाको रात जाग्राम बस्नु, लक्ष्मीको गुणगान गाउनु, भजन गाउनु र मध्यरातमा महिलाले ‘सूर्प वादन’ गर्नु भन्ने पनि छ । ‘सूर्प वादन’ भनेको नाङ्लो बजाउनु हो । यसो गर्नाले अलक्ष्मी भाग्छिन् र लक्ष्मी भित्रिन्छिन् भन्ने विश्वास छ । यस दिन धनका मालिक कुबेरको पनि पूजा गरिन्छ । यसै दिन भैलो खेल्ने चलन छ । भैलोको अर्थ
‘भलो होस्’ भन्ने हो । ‘हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको’, ‘हामी त्यसै आएनौँ बलि राजाले पाठाए, हे औँसी बार गाईतिहार भैलो’ आदि भनी भैलो खेलिन्छ । बलि राजालाई दानवीर राजाका रूपमा चिनिन्छ । यम पञ्चकका पाँच दिन उनी लोकका राजा हुन्छन् भनिन्छ । त्यसैले ‘हामी त्यसै आएनौँ बलि राजाले पठाए’ भनेर भैलो खेलिने गरिएको होला ।
कार्तिक शुक्ल प्रतिपदामा गाई÷गोरु र गोवद्र्धन पूजा हुन्छ । पहिले पहिले सबभन्दा ठूलो धन गोधन मानिन्थ्यो । गाईलाई लक्ष्मीका रूपमा पनि पुजिन्छ । गाईको दूध, दही र घिउ मात्र होइन, गहुँत र गोबर पनि पवित्र मानिन्छ । त्यसैले गाई÷गोरुको रक्षाका लागि गोवद्र्धन पूजा गरिन्छ । औँसीको अन्त्य र प्रतिपदाको आदिमा गाई पूजा गर्नुपर्छ भन्ने शास्त्रीय सिद्धान्त हो । अहिले सहरबजारमा गाई पूजा गर्न गाह्रो छ । कृषिप्रधान देश हो, सहरबजारमा गाई नभए पनि गाउँघरमा गाई÷गोरुको पूजा हुन्छ । गाईको गोठमा मार्गपाली बन्धन टाँग्ने पनि गरिन्छ । गाईगोरुलाई दुःख दिने तìवबाट बचाउन मार्गपाली बन्धन टाँग्ने गरिएको हो । बेलुका देउसी रे खेलिन्छ ।
प्रतिपदाकै दिन जुवातास खेल्नु पनि भनिएको छ । त्यसैले पञ्चक लागेपछि जुवातास फुक्यो भन्ने चलन चलेको हो । अघिअघि यम पञ्चकमा प्राणी क्रीडा र अप्राणी क्रीडा दुई थरी हुन्थ्यो । प्राणी क्रीडा भनेको गोरु जुधाउनु, कुखुरा जुधाउनु, हाँस जुधाउनु हो भने अप्राणी क्रीडा जुवातास खेल्नु हो । यसै दिन नेवार समुदायले म्हः पूजा गर्छन् । म्हः पूजा भनेको आत्मपूजा हो । आत्मा नित्य छ, शाश्वत छ, शुद्ध छ, अजर छ, अमर छ भनेर शास्त्रमा नै उल्लेख गरिएको छ । फेरि आत्मा भनेको ईश्वर पनि हो । ईश्वर दुई किसिमका हुन्छन्– परमात्मा र जीवात्मा । आत्मालाई दुःख दिनु हुँदैन भनिन्छ । त्यसैले म्हः पूजा गर्नु धेरै राम्रो हो । यसै दिन नेपाल संवत्को नयाँ वर्ष पनि फेरिन्छ ।
यमपञ्चकको अन्तिम दिन कात्तिक शुक्ल द्वितीया हो । यस दिनलाई भाइटीका वा यमद्वितीया पनि भनिन्छ । द्वितीयाको देवता नै यमराज हो । यस दिन दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्छन् । दाजुभाइको उन्नति, प्रगति र सुस्वास्थ्यका लागि दिदीबहिनीले पूजा गर्छन् भने दाजुभाइले दिदीबहिनीको अटल सौभाग्यका लागि पूजा गर्छन् । दिदीबहिनी नहुने दाजुभाइले बनाएकी बहिनीसँग भने पनि टीका लगाउनु भन्ने शास्त्रीय मान्यता छ । यस अवसरमा आफ्नो गच्छेअनुसार दाजुभाइले दिदीबहिनीलाई दक्षिणा, वस्त्र आदि दिन्छन् भने दिदीबहिनीले मिष्ठान्न, पक्वान्न र फलपूmल दिन्छन् । यमुनाको घरमा गएर यमराज यमपञ्चकभरि बसेका थिए । यमुनाले दाजु यमराजको पूजाआजा गरिन् भन्ने कथा पनि यससँग जोडिएको छ । दाजुभाइको पूजा गर्नुअघि दिदीबहिनीले अष्टचिरञ्जीवी (मार्कण्डेय, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र अश्वत्थामा), यमराज, चित्रगुप्त तथा नवग्रहको पूजा गर्नुपर्छ ।
झिलिमिली बत्तीको प्रयोग बढ्दो
तिहार मनाउने क्रममा सहरबजारमा पालामा बत्ती बलेको थोरै मात्र देखिन्छ । यसको ठाउँ बिजुली बत्तीका मालाले लिएको छ । विशेषगरी झिलिमिली बत्तीको प्रयोग बढ्दो छ । आधुनिकता र सजिलोका लागि यस्तो संस्कार चल्दै गएको हो । तेल, घिउको बत्ती बाल भनेर हाम्रो शास्त्रले त भनेको छ । जुन बेलामा बिजुली बत्ती नै थिएन, त्यो बेलामा कसरी बिजुली बत्ती बाल भनेर शास्त्रले भन्नु । त्यसैले थोरै भए पनि पालामा पनि बत्ती बाल्ने संस्कार भने हामीले छाड्नु हुँदैन । यस्तै पूmलका मालाको ठाउँ प्लास्टिकका मालाले लिन थालेको छ । यो बेला पूmल महँगो हुनाले धान्न गाह्रो हुने भएकाले यस्तो भएको होला ।
यस्तै घरको आँगन तथा चोक विभिन्न रङले सिँगार्न पनि थालिएको छ । यो चलन भारतीय संस्कृतिको देखासिकी हो । भारत आर्यावर्त क्षेत्रमै पर्छ । त्यसैले यो नौलो कुरो होइन । बरु धेरैभन्दा धेरै मानिस अहिले यो पर्वमा सहभागी भएको देख्न पाउँछौँ । यो भने खुसीको कुरो हो । तिहार हाम्रो राष्ट्रिय पर्व हो । एकताको पर्व हो । यसले दाजुभाइ र दिदीबहिनीबीच सौहार्द, सद्भाव र स्नेह बढाउन मद्दत गर्छ । जीवनभर यो सम्बन्ध अटल रहोस् भन्ने कामना पनि यस अवसरमा गरिन्छ । हाम्रो पहिचान के त भन्दा दशैँ, तिहार, तीज, पञ्चमी, विभिन्न समुदायले मनाउने विभिन्न चाडपर्व, जात्रा आदि जति पनि छन्, यी सबै हाम्रो राष्ट्रलाई चिनाउने सांस्कृतिक सम्पत्ति हुन् । यी सबैको संरक्षण हुनुपर्छ । संवद्र्धन हुनुपर्छ ।
(पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष गौतमसँग पुष्पराज जोशीले गर्नुभएको कुराकानीमा आधारित)