तिहार नेपाली समाजमा ठूला पर्वमध्येमा पर्छ। तिहारको सांस्कृतिक, पारिवारिक एवं सामाजिक महत्व छ। वर्षको एक पटक दिदी बहिनीले दाजुभाइहरूसँग भेटघाट गरी भाइटीका लगाइदिने चलन भएकोले सामाजिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भने किंवदन्तीअनुसार मृत्युदेव यमराज पाँच दिनसम्म आफ्नो सम्पूर्ण कार्यभार चित्रगुप्तलाई सुम्पेर आफ्नी दिदी यमुनाको घरमा गएको र दिदी यमुनाले आफ्नो भाइ आएको खुसीयालीमा दीपावली गरी उनको पूजा गरेकी थिइन् भन्ने शास्त्रीय मान्यता रहेको छ । यसरी हेर्दा तिहारलाई सांस्कृतिक एवं सामाजिक पर्वको रूपमा मान्ने चलन छ।
हरेक वर्ष कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्ल पक्षको द्वितीय तिथिका बीचका पाँच दिनसम्म मनाइने चाड नै तिहार हो। वैष्णवहरूले रामराज्याभिषेक, बौद्धहरूले बोध प्राप्ति र नेवारहरूले म्ह पूजाका रूपमा मनाउने यो पर्वको अत्यन्त लोक महिमा छ। तिहारलाई फूलमाला र बत्तीको पर्व पनि भन्ने गरिन्छ। हाम्रो शास्त्रीय मान्यताअनुसार उज्यालोलाई समृद्धिको प्रतीकको रूपमा लिइन्छ। हाम्रा धार्मिक आस्थासँग जोडिएको दियो बालेर शुभारम्भ गरिने शास्त्रीय परम्परा रहेकोले यस पर्वलाई उज्यालोको पर्व अर्थात् विकास र समृद्धिको पर्व पनि भन्ने गरिन्छ।
तिहारमा मृत्युका देवता यमराजको समेत पूजा गरिने हुनाले तिहारका पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ। विशेषतः तिहारमा सम्पत्तिकी देवी महालक्ष्मीको भव्यताका साथ पूजाअर्चना गरिन्छ। लक्ष्मीलाई धनकी माता, शोभा, सौन्दर्य, सुख, समृद्धि, सौभाग्य, आरोग्य तथा सिर्जनाकी देवीको रूपमा मान्ने चलन छ। यसका साथै हिन्दु धर्मालम्बीहरूले गाईलाई लक्ष्मीको अवतारको रूपमा मान्ने चलन भएकोले लक्ष्मीको रूपमा गाईको विशेष पूजा गर्ने चलन छ। लक्ष्मीपूजाको दिन आ–आफ्ना घर आँगन सफा सुग्घर गरी घरको ढोकादेखि पूजाकोठासम्मको बाटोमा रातोमाटोले लिपेर लक्ष्मीको आह्वान गर्ने चलन रहेको छ। लक्ष्मीको स्वागतार्थ घरका ढोकामा सयपत्री फूलका मालाहरूले सिँगार्ने प्रचलन छ। यस दिन धनको सिंहासन मूल ढुकुटीको विशेष रूपमा पूजाअर्चना गरिन्छ।
त्यसो त तिहारका पाँचै दिन आफैँमा अत्यन्त महत्वपूर्ण छन्। पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौँ दिन भाइ तिहार मनाउने चलन छ। क्रमशः यमराजको दूतको रूपमा काग, द्वारपाल कुकुर, वैतर्णी तार्ने गाई, शिवको वाहन तथा धर्ती सेवक गोरुको पूजा गरेपछि पाँचौँ दिनमा भाइ पूजा हुन्छ। तिहारको अन्तिम दिन वा कात्र्तिक शुक्ल द्वितीयाका दिन शास्त्रीय विधानअनुसार दिदी बहिनीहरूले दाजुभाइको दीर्घायु र आरोग्यको कामना गर्दै सप्तरङ्गी टीका र मखमली, सयपत्री, दुबो आदिको माला लगाई मिष्ठान्न भोजन गराउने चलन छ। दिदीबहिनीको हातबाट टीका ग्रहण गरिसकेपछि दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई आफूसक्दो दक्षिणा दिने प्रचलन छ। यसरी हेर्दा घर परिवारका दाजुभाइ, दिदीबहिनीका बीचमा सौहार्दपूर्ण व्यवहार, आपसी सद्भावका साथै जमघट हुने अवसर जुटाइदिनु तिहारको सांस्कृतिक सौन्दर्यभित्रको सामाजिक पक्ष हो।
हाम्रा चाडबाड आधुनिक समाजको विकाससँगै खर्चिला, भड्किला र यिनीहरूको धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य र मान्यतालाई आधुनिकताको नवनिर्मित व्यवहारले सांस्कृतिक महत्व छायामा पर्दै गएको अग्रजहरूको बुझाइ छ। तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैँमा शास्त्रीय छ। सुसंस्कृत छ। यस सन्दर्भमा तिहारको महत्व र सौन्दर्यलाई घरका अभिभावक तथा समाजका अग्रज पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्छ। यसो भएमा हाम्रा चाडपर्वहरूका शास्त्रीय मूल्यमान्यता तथा सामाजिक महत्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै जान्छन्। नयाँ पुस्ताले समाजका स्थापित मूल्य मान्यतालाई शिरोधार्य गर्दै जान सक्छन्। यो आजको आवश्यकता हो।
त्यसो त समाज गतिशील हुन्छ। सामाजिक परिवर्तन सँगसँगै समाजका मूल्यमान्यता पनि परिवर्तन हुँदै जान्छन्। हाम्रा मेला, पर्व, संस्कृति र चलनमा पनि धेरै परिवर्तन आइरहेका छन्। तिहारको यति ठूलो सांस्कृतिक र सामाजिक महत्व हुँदाहँुदै पनि यसभित्रका विकृति र विसङ्गतिहरू मौलाइरहेका छन्। तिहारको नाममा पटका पड्काउने, जुवातास खेल्ने, मादक पदार्थ सेवन गर्ने, झै–झगडा गर्नेजस्ता सामाजिक विकृतिहरू पनि समाजमा हुने गरेको पाइन्छ। वास्तवमा समाज परिवर्तनसँगै आधुनिकताको नाममा भित्रिएका अनेक किसिमका विसङ्गतिको निराकरण गरी तिहारको गरिमालाई कम हुन दिनु हुँदैन। तिहारको सांस्कृतिक सौन्दर्यलाई आधुनिकताको नवनिर्मित व्यवहारले किमार्थ फिका बनाउनु हुँदैन। तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैँमा शास्त्रीय छ। सुशोभित छ। तसर्थ यो चाडको महत्वको बारेमा घर, परिवार र समाजका अग्रज पुस्ताले नयाँ पुस्तालाई सिकाउनु र बुझाउनु पर्छ। यसो भएमा हाम्रा चाडपर्वका शास्त्रीय मूल्य, मान्यता तथा सामाजिक महत्व नयाँ पुस्तामा पुग्न सक्छ र हाम्रा सांस्कृतिक पर्वको संरक्षण हुँदै जान्छ।
तिहारमा महालक्ष्मीको पूजा–अर्चना गरेपछि घरघरमा दीपावली गरी भैलो र देउसी खेल्ने चलन छ। भैलो, देउसीले साथीभाइको जमघट हुने, नाँचगान गर्ने आशिष आदानप्रदान गर्ने गरिन्छ। यसले तिहारमा रमाइलोपनको महसुस गराउँछ। भैलो र देउसीलाई आयआर्जनको स्रोत बनाउन र जम्मा भएको रकमले वनभोज तथा कक्टेल पार्टी गर्ने संस्कृति बढेको छ। वास्तवमा यो नवनिर्मित संस्कृति हो। यो संस्कृतिले परम्परा र सांस्कृतिक मान्यताको विपरीत भौतिकवादी चिन्तनलाई प्रश्रय दिएको पाइन्छ। यसो हुनु उचित नभएको संस्कृतिविद्को कथन छ।
तिहार हाम्रो सांस्कृतिक पर्व भएकोले खुसीयालीको बहानामा मादकपदार्थ सेवन गरी झै–झगडा गर्नेजस्ता सामाजिक विकृतिलाई समाजले निरुत्साहित गर्नुपर्छ। चाडपर्वलाई आफू अनुकूल उपयोग गरी सामाजिक अनुशासनमा खलल पु-याउनेजस्ता क्रियाकलाप कसैले पनि गर्नु हुँदैन। तिहारको लोकउत्सव नेपालीहरूका घरआँगनमा समृद्धिको वाहक बनेर आउनु पर्छ। तिहारको आडमा हुने हरेक किसिमका सामाजिक विकृति निर्मूल गर्नु हामी सबैको साझा कर्तव्य हो। तिहारलाई भड्किलो, महँगो र देखासिखीको चाड बनाउनु हुँदैन। यसको सांस्कृतिक र शास्त्रीय मौलिकपन, मूल्य र मान्यतालाई अनुसरण गर्दै तिहार मनाउने व्यावहारिक तथा सरल उपायहरू अवलम्बन गरौँ। हाम्रा संस्कृति र चाडवाडको संरक्षण गरौँ।