• १४ असार २०८१, शुक्रबार

जिप दुर्घटनाका मृतकको सामुहिक अन्त्यष्टी

blog

शैलेन्द्र रोकाया 

बझाङ, कात्तिक ४ गते । बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनाका  मृतकहरुको शुक्रबार सामुहिक अन्त्यष्टि गरिएको छ । मृतकका आफन्त तथा परिवारजनले हिन्दु संस्कारअनुसार सदरमुकाम चैनपुर नजिकै रहेको धौलाबगर आर्यघाटमा मृतक ८ जनाको सामुहिक रुपमा अन्त्यष्टी गरेका हुन् । 

मृतक परिवारले क्षतिपुर्ति बाफतको रकम पाउनु पर्ने भन्दै जिल्ला अस्पतालबाट शव बुझ्न नमानेपछि बिहीबार दाहसंस्कार हुन सकेको थिएन् । नेपाल सरकारको नियमअनुसार दुर्घटना भई मृत्यु भएमा पाँच लाखसम्म मृतकका परिवारले क्षतिपूर्ति पाउनु पर्ने र घाइतेको उपचार सवारीधनीले गर्नुपर्ने व्यवस्था छ । 

सवारी धनीले आर्थिक अबस्था कमजोर भएका कारण क्षतिपूर्ति दिन नसकिने भनेपछि शुक्रबार आफन्तहरुले शव बुझेको थिएनन् । मष्टा – १ का वडा अध्यक्ष रामचन्द रोकायाले भन्नुभयो, “शुक्रबार बिहान सवारीधनीले बीमाबाफत आउने र बाँकी रकम आफै बेहोर्ने तरिकाले सहमतिको कागज बनेपछि दाहसंस्कार गर्ने वातावरण बन्यो ।”  

बिहीबार मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको समन्वयमा जिल्लाका सबै पालिकाका प्रमुखले जिल्लाको सबैभन्दा ठूलो दुर्घटना भएकाले सहयोगको प्रतिबद्धता गरेका छन् ।  मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराका अनुसार बिपत्तका बेला सबैले सहयोग गर्ने सहमतिसाथ समन्वय गरेर जिल्लाका ११ वटा पालिकाबाट १९ लाख रुपियाँ सहयोग जुटेको छ । उहाँले आफ्नो पालिकाले मृतक परिवारलाई प्रतिपरिबार ५० हजार रुपियाँ कृयाखर्च र घाइतेहरुको उपचारका लागि प्रतिब्यक्ति २० हजार र यातायात खर्च दिएको बताउनुभयो । 

दुर्घटनामा परी मृत्यु हुनेहरुमा मष्टा गाउँपालिका –२ का १३ बर्षिया सम्झना खड्का, १५ बर्षिया रोशन खड्का, २८ बर्षिया बसन्ती धामी, १३ बर्षिया प्रचण्ड खड्का, ३८ बर्षिय बिरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दिक्षिता कठायत र शुक्लाफाँटा नगरपालिका –७ कन्चनपुरका ४२ बर्षिय झरेन्द्र बोहरा, मष्टा– १ की ५० बर्षिया सिन्कीदेबी भण्डारीको मृत्यु भएको थियो । दुर्घटनामा १७ जना घाइते भएका थिए ।