• २० असोज २०८१, आइतबार

झिनियाँ रोटी उत्पादनबाट लाखौं आम्दानी

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक ४ गते । गुल्मीमा लाखौं रुपियाँका झिनियाँ रोटी उत्पादन हुँदैआएको छ । यस जिल्लाको पुरानो व्यापारिक केन्द्रका रुपमा परिचित मुसिकोट नगरपालिकाको वामीटक्सारमा वार्षिक झण्डै ५० लाख रुपियाँ बराबरको झिनियाँ रोटी उत्पादन हुँदैआएको हो । 

नेवार समुदायले झिनियाँ रोटी व्यावसायिक रुपमा उत्पादन गर्दैआएका छन् । करिब एक सय घरधुरी नेवार समुदायको रहेको वामीटक्सारमा झण्डै ८० प्रतिशतले झिनियाँ रोटी बनाउनेगरेका छन् । नेवार समुदाय मात्र होइन, अन्य समुदाय पनि झिनियाँ रोटीको व्यावसायिक उत्पादनमा आकर्षित भएका छन् ।  

अन्य समुदायसहित करिब ५० घरधुरी नेवार समुदायले झिनियाँ रोटी उत्पादन गर्दैआएका छन् । वामीटक्सार बजारका सुशान्त शाक्यले एउटै सिजन तिहारमा मात्रै करिब दुई लाख रुपियाँ बराबरको झिनियाँ रोटी उत्पादन गर्दैआउनुभएको बताउनुभयो । सबैभन्दा बढी झिनियाँ रोटीको कारोबार गर्ने विष्णुमति श्रेष्ठ यहाँ परिचित हुनुहुन्छ ।

झिनियाँ रोटीको कारोबारबाटै आफ्ना छोराछारीलाई पढाउनेदेखि सडक छेउमै पक्की घर समेत बनाउन सफल हुनुभएको छ । चार जनालाई रोजगारी समेत उहाँले दिनुभएको छ । झिनियाँ रोटीको मूलतः तिहारमा धेरै माग हुनेगर्छ । यही सिजनमा मात्र करिब ६ लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।  

त्यहाँका थुप्रैले झिनियाँ रोटी उत्पादन गरी वर्षेनी लाखौं आम्दानी गर्दै आउनुभएको छ । वामीटक्सारमा मात्र हेइन्, सदरमुकाम तम्घासको पुरानो बजार र बाघमारेका नेवार समुदायले पनि सदियौंदेखि झिनियाँ रोटीको व्यावसायिक उत्पादन गर्दै आउनुभएको छ । 

सदरमुकाम बाहिर वामीटक्सारसँगै पुराना व्यापारिक केन्द्रहरु रिडी, जोहाङ्ग खैरेनी, शान्तिपुर, पुर्तिघाट, बलेटक्सार, रानीबास, धुर्कोटबस्तु लगायतका स्थानमा उत्पादन हुने झिनियाँ रोटीको व्यापारबाट यस जिल्लामा लाखौंको आम्दानी हुनेगरेको स्थानीयको भनाइ छ ।