• १६ भदौ २०८१, आइतबार

उम्मेदवारको निर्वाचन खर्च निर्धारण

blog

सन्तोष सुवेदी

कास्की, कात्तिक ४ गते । कास्की जिल्ला निर्वाचन आयोगले आगामी निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरिदिएको छ। निर्वाचन आयोगका अनुसार कास्कीका प्रतिनिधि सभाका उम्मेदवारहरूले बढीमा ३१ लाख रुपियाँ खर्च गर्न पाउनेछन्। 

कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारका लागि ३१ लाख रुपियाँको खर्च सीमा तोकिएको छ। कास्की क्षेत्र नम्बर २ का उम्मेदवारले भने २७ लाख रुपियाँ र कास्की–१ का उम्मेदवारले २९ लाख रुपियाँ खर्च गर्न पाउनेछन्।

त्यस्तै प्रदेश सभा सदस्यका उम्मेदवारले १९ लाख रुपियाँसम्म खर्च गर्न पाउनेछन्। कास्की–१ (क)का उम्मेदवारको खर्च सीमा १७ लाख, १ (ख)का उम्मेदवारले १५ लाख, कास्की–२ (क) र (ख)का उम्मेदवारले १५ लाख र कास्की ३ (क) र (ख)का उम्मेदवारले १९ लाख रुपियाँ खर्च गर्न पाउनेछन्। 

निर्वाचन कार्यालयका अनुसार कास्कीमा सबै गरी दुई लाख ९१ हजार ५६८ जना मतदाता छन्। तीमध्ये सबैभन्दा बढी कास्की–१ मा एक लाख १० हजार ७१५ जना छन्। कास्की १ (क)मा ५८ हजार ४४५ र (ख)मा ५२ हजार २७०, कास्की–२ मा ७९ हजार १३८, कास्की २ (क)मा ४२ हजार २८२ र (ख)मा ३६ हजार ८६५ जना मतदाता छन्। 

कास्की–३ मा भने एक लाख एक हजार ७१५ जना, कास्की–३ (क)मा ५२ हजार ८६२ र (ख)मा ४८ हजार ८५३ जना मतदाता छन्। यहाँ ३४४ मतदान केन्द्र रहेको आयोगको कार्यालयले जनाएको छ।  निर्वाचन आयोगको कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले मतदाता सङ्ख्या, भौगोलिक अवस्थाका आधारमा उम्मेदवारको निर्वाचन खर्चको सीमा तोकिएको बताउनुभयो। उहाँले सुगम, दुर्गम र मतदाता सङ्ख्याका आधारमा फरक खर्च तोकिएको जानकारी दिनुभयो। कास्कीका तीनवटा निर्वाचन क्षेत्रमध्ये तुलनात्मक रूपमा कास्की–३ ले दुर्गम भेग समेट्छ। 

अन्नपूर्ण आधार शिविर (एबीसी) क्षेत्रसम्मको सबै भेग कास्की–३ मा पर्छ। अन्नपूर्ण गाउँपालिका, माछापुच्छे गाउँपालिका र पोखरा महानगरपालिकाका ११ वटा वडा यो क्षेत्रमा समेटिएका छन्। पर्यटकीय क्षेत्र लेकसाइड कास्की–३ भित्र पर्छ।