• ११ असोज २०८१, शुक्रबार

महानगरको ध्यान लामखुट्टे र लार्भामा

blog

नवराज कट्टेल

विराटनगर, कात्तिक ४ गते । विराटनगर महानगरपालिकाले डेङ्गु सार्ने लामखुट्टे र लार्भा नष्ट अभियान सुरु गरेको छ। रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्भावित जोखिम क्षेत्रको पहिचान गरेर लामखुट्टे र लार्भा नष्ट गर्न थालिएको हो। 

यस अगाडि महानगरले सरोकारवालालाई राखेर लामखुट्टे र लार्भा नष्ट गर्नेबारे अभिमुखीकरण गराएको थियो। महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा कसरी नष्ट गर्न सकिन्छ भन्ने जानकारी गराएपछि वडास्तरीय अभियान सुरु गरेको हो। 

विराटनगर महानगरको स्वास्थ्य महाशाखाले वडा नम्बर ८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियानको आरम्भ गरेको थियो। वडाध्यक्ष राम पोखरेलको नेतृत्वमा शान्ति चोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो। त्यसबाहेक घरभित्र लामखुट्टेको सम्भावित लार्भा स्थलबारे नागरिकलाई सचेत गराइएको छ। 

विशेष गरी टायर, झाडी, जमेको पानीलगायतमा डेङ्गुको सङ्क्रमण गराउने लामखुट्टे बस्ने भएकाले खोज तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो। महानगर प्रमुख नागेश कोइरालाको निर्देशनअनुसार सबै वडामा डेङ्गु नियन्त्रणको अभियान सञ्चालन सुरु गरिएको महाशाखा प्रमुख अलीले जानकारी दिनुभयो। सङ्क्रमणको जोखिम कम गर्न सबै वडामा यो अभियान सञ्चालन गरिने भएको छ। 

गत मङ्गलबार विराटनगर–१९ का वडाध्यक्ष श्याम घिमिरेको नेतृत्वमा खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो। महानगरको अभियानले डेङ्गुको सङ्क्रमण जोखिम कम हुने दाबी गरिएको छ। घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने चिकित्सकहरूले बताउँदै आएका छन्।