• १३ साउन २०८१, आइतबार

दल होइन, दिल बदलौँ

blog

अब्राहम लिङ्कनले भनेका छन्, “निर्वाचन नागरिकको अधिकार हो र त्यो सही उम्मेदवार चुन्ने बुद्धिमत्तापूर्ण अधिकार हो। आफ्नै अधिकार भए पनि गलत उम्मेदवार चुन्नु पाप हो।” स्वार्थका भरमा कुनै व्यक्तिविशेषलाई मात्र देवत्वकरण गर्ने परिपाटी नभई जसले बोलेअनुसार काम गरेर देखाउने खुबी राख्छ, प्रामाणिक छ उसैलाई चुन्नुपर्छ भन्ने सङ्केत हो।

निर्वाचन लोकतान्त्रिक शासन र राजनीतिक स्थिरताको आधारशीला हो। चुनावमार्फत दलहरूले आफ्नो लोकतान्त्रिक जनादेश प्राप्त गर्छन् र सत्तामा आफ्नो कार्यसम्पादनका लागि जवाफदेही हुन्छन्। राजनीतिक अस्थिरता, नकारात्मक राजनीतिक हस्तक्षेप, जालसाजी, कुप्रबन्धन, हिंसा र दण्डहीनताका कार्यमा लचिलोपन कायम गर्ने निर्वाचन कानुन र संस्थाको अखण्डतालाई उत्तम रूपमा सुरक्षित राख्ने माध्यम हो। निर्वाचन परिवर्तन र विकासको संवाहक हो। निर्वाचन नागरिकको मतको सम्मान र अभिव्यक्तिको अभ्यास हो; जसले राष्ट्रमा सकारात्मक विकासको अपेक्षा राख्छ।

नेपालमा निर्वाचनको अर्थ कुनै दलको नेतृत्वले विजय हासिल गरेर सत्तामा पुग्ने र विजयपछि नागरिकलाई बेवास्ता गर्ने, नागरिकको कुरा नसुन्ने परिपाटीले गर्दा निर्वाचन शब्द नै वितृष्णा बन्ने गरेको छ। अझ त्यसमा पनि उम्मेदवारले आफ्नो विजय सुनिश्चित पार्न दल नै बदल्ने र भएन भने गठबन्धनको नाममा आफ्नो जित हुनैपर्ने मनोविज्ञानले खास दलप्रति आस्था र रुचि राख्नेले पनि सम्झौता गरेर दलको उम्मेदवारलाई अर्को दलको चिह्नमा मत दिन कसरी सहज लाग्ला र ? 

हुन त गठबन्धन संस्कृतिलाई संविधानले नै मान्यता दिएको छ तर यसको प्रयोग कुन अवस्थामा कहिले गर्ने नभई सधैँ चुनाव जित्न र सरकारमा जानकै लागि प्रयोग हुन थाल्यो भने त्यसले गलत प्रवृत्तिको विकास गर्न सक्छ। आखिर किन यत्रो प्रपञ्च त ? किनकि चुनाव जित्न। आफ्नो मात्र दलले बहुमत ल्याएर विजय हासिल गर्न सक्छ भन्ने विश्वास कम हुँदै गएकाले। देशलाई बदल्नु छ, विकासको प्रक्रियालाई बदल्नु छ, त्यसैले अन्तिम समयमा दल बदलेरै भए पनि राजनीतिमा आउनु छ। राम्रा मान्छे पनि आउनैपर्ने देखियो; जे बदलेर भए पनि तर बदल्नकै लागि नागरिकको दिल जित्न सकेको भए यति धेरै तिकडम गर्नुपर्ने जरुरी रहन्थेन कि ? किनकि अन्तिममा मतका लागि अनुरोध त नागरिकसँगै गर्नुपर्ने हुन्छ।

आज चुनाव प्रचारप्रसार र मत माग्न जुन उपाय उम्मेदवार र दलका कार्यकर्ताले अपनाएका छन्, त्यो तरिका आपत्विपत्मा, जनताले चाहेको समयमा र सामान्य जीवनशैलीमा अपनाउन सकेको भए दिल बदल्न असहज पनि थिएन होला। निर्वाचनको समयमा नागरिकको मतलाई सम्मान गर्न जान्ने नेतृत्वले सामान्य जनजीवनमा र यथार्थतामा नागरिकको सम्मान स्वरूपको दिल जित्न किन सक्दैनन् ? किन निर्वाचनको समयमा मात्र घरदैलोको महत्व हुन्छ ? 

सम्भव छैन दैनिक घरदैलो गर्न तर धेरै माध्यम छन् नागरिकसँग नजिकिने र उनीहरूको दिल जित्ने माध्यम। कसैद्वारा शृङ्गार गराउनु र राम्रो देखिनु छ भने शृङ्गार गरिदिने व्यक्तिको सामीप्यता हुनु जरुरी हुन्छ अन्यथा टाढा हुँदा शृङ्गार बिग्रिन्छ, लत्पतिन्छ र बिग्रन्छ। निर्वाचनको माध्यमबाट नागरिक मतले शृङ्गार चाहनेले उनीहरूको नजिक हुनुपर्छ। केवल कार्यकर्ता र आफन्तजनसँग मात्र नजिक भएर पुग्दैन। अब यो चुनावको प्रसङ्ग राजनीतिक चुनावमा मात्र होइन, जीवनको चुनावमा पनि आउँछ। कसको शृङ्गारमा सजिन मन छ, त्यसकै नजिक र सामीप्यमा रहनुपर्छ। किनकि जीवनमा जोसँग जस्तो सङ्गत छ, त्यस्तै नै शृङ्गार प्राप्त हुन्छ। 

राजनीतिक निष्ठा या व्यक्तिगत स्वार्थ !

अहिलेको निर्वाचनका लागि टिकट वितरण प्रक्रिया, टिकट दिएर गरिएका उम्मेदवार छनोट, प्रत्येक दलका कार्यकर्ता र नेतालाई चुनावमा उठ्ने रहर देखिन्छ। दलगत निष्ठा र दलभित्रको व्यवस्थापनभन्दा व्यक्तिगत स्वार्थ हावी हुनुले आफ्नै दलले टिकट नदिए विद्रोही बनेर या दल परिवर्तन गरेर भए पनि त्यो वितृष्णा पोखेको देखिन्छ। म पनि उम्मेदवार हुन पाउनुपर्छ भन्नुको तात्पर्य दलभित्र आफ्नो अस्तित्वको लडाइँ बाँकी छ। आफ्नै दलका वरिष्ठ नेतामाथि आफ्नै कार्यकर्ताले प्रश्न उठाउनु विद्रोहको लक्षण र दल परिवर्तन गर्नसमेत मानसिकता तयार पारेको लक्षण हो। एउटा दलको शीर्ष नेता अर्को दलको चुनाव चिह्न लिएर उम्मेदवार बन्नुले दलगत अस्तित्व कहाँ पुग्यो ?

दलगत नैतिकता र अनुशासन नै बिर्सेर आफैँ अघि आउनुपर्छ भन्ने स्वार्थले नै त लोकतन्त्रका मूल्य र मान्यतालाई खिल्ली उडाएको छ।

अवसरवादी बन्ने होडबाजी, राजनीतिक स्वार्थ र व्यक्तिगत लाभ क्षणिक रूपमा फाइदाजनक देखिए पनि कालान्तरमा यसले दलीय प्रणालीको हैसियत र निष्ठामाथि चुनौती अवश्य दिनेछ। दलीय व्यवस्थाको उपयुक्त विकल्प नहुँदा नहुँदै स्वतन्त्र उम्मेदवारलाई रोज्न बाध्य भएको अभिव्यक्ति पनि मतदाताबाट नै आइरहेको छ। दलगत आस्थाको मत दिन नपाउनु दुर्भाग्य ठानेका पनि छन्। शीर्ष नेताले सत्ता गठबन्धन र सेटिङमा उम्मेदवार चयन गर्ने र गठबन्धनको संस्कार अपनाउने अभ्यासले युवा वर्गमा छाएको निराशा र अन्योलले पनि यसलाई पुष्टि गरेको छ। गठबन्धनको चक्करमा आफ्नै दलका सिद्धान्त, संस्कार, मर्यादा, जवाफदेहिता, अपनत्व, नीति, योजना र कार्यक्रम कता पुगे थाहा छैन ? राष्ट्रलाई स्थायित्व दिन निर्वाचन या आफू स्थापित हुन उम्मेदवारी सबैको प्रश्न बनेको छ।

रामकथाजस्तो होइन निर्वाचन

नेपाली विषयका शिक्षकले रामकथा पढाउँदै थिए। कक्षाका सबै विद्यार्थी निदाएका थिए। रामकथा सुन्दा बूढाबूढी त निदाउँछन्, बच्चाको त कुरै भएन। किनकि रामकथा यति धेरै पटक सुनिएको हुन्छ कि ज्ञान हुनेले सजिले बुझ्छ, अज्ञानीलाई न बुझाउन सकिन्छ न त रसिक नै लाग्छ। त्यसैले भन्नेले भन्दै जान्छ, निदाउनेलाई जगाएर कसैले सुनाउने प्रयत्न पनि गर्दैन। शिक्षकलाई शब्द शब्द कण्ठस्थ थियो त्यसैले किताब खोलेर राखे, अर्धनिद्रामै बोलिरहे, उनले पनि ठाने सुनिरहेकै छन् विद्यार्थीले। 

अचानक जिल्ला शिक्षा निरीक्षक विद्यालयको छड्के निरीक्षणमा आए। सबैतिर हल्लाखल्ला चल्यो। शिक्षक–विद्यार्थी सबै अनुशासित भएर ध्यानपूर्वक पढ्ने र पढाउनेजस्तो भएर बसे। निरीक्षकले सोधे– के पढाइ भइरहेको छ ? शिक्षकले भने– रामकथा। निरीक्षकले भने– ए रामकथा पढाइ भइरहेको रहेछ, म सबैलाई प्रश्न सोध्छु है त एउटा एउटा रामकथाकै विषयमा। सुरुमै उनले प्रश्न गरे– शिवको धनुष कसले भाँचेको थियो ? उनले सोचेका थिए यो सजिलो प्रश्नको जवाफ त केटाकेटीले दिइहाल्छन्। एकछिनसम्म कोही बोलेनन् । त्यही बीचमा एक जना विद्यार्थीले हात उठाएर भने– सर म त १५ दिनदेखि छुट्टीमा बसेको थिएँ, आजै आएको हो विद्यालय। योबीचमा कसले धनुष भाँच्यो मलाई चाहिँ थाहा छैन र १५ दिन अगाडि कक्षाको टेबल र कुर्सी भाँचिँदा सबैले मलाई दोष लगाए; जुन मैले गरेको थिइनँ। त्यसैले अहिले पनि म सफाइ दिन चाहन्छु, कसले भाँच्यो धनुष मलाई थाहा छैन र मैले त हुँदै होइन।

निरीक्षक हैरान भए, यस्तो जवाफ देलान् भनेर उनले सोचेकै थिएनन्। उनले शिक्षकतिर हेरे। शिक्षकले भने– यो केटा बदमास नै छ, विद्यालयको सामान तोडफोड भयो भने ९० प्रतिशत बदमासी यसले नै गरेको हुन्छ, त्यसैले यसको कुरा नपत्याउनुस् सर। धनुष यसैले भाँचेको हुनुपर्छ त्यसैले सुरुमै सफाइ दिँदै छ। अब यस्ता शिक्षकसँग के कुरा गर्नु, निरीक्षक चुपचाप त्यहाँबाट प्रधानाध्यापककोमा गए र सबै बेलिबिस्तार लगाए। कस्तो शिक्षक राखेर अध्यापन गराउँदै हुनुहुन्छ ?

प्रधानध्यापकले भने– सर कुरा केवल धनुष भाँचिएको विषय न हो, यसलाई यहीँ टुङ्ग्याइदिउँ। कति चिज तोडफोड गर्छन् आजकलका विद्यार्थीले, हामी त चुप लागेर बस्छौँ। चुप नलागेर के गर्ने विद्यार्थी युनियन भनेर हडताल गर्छन् फेरि।

हे भगवान् अब निरीक्षक झनै आश्चर्यमा परे, यस्ता प्रधानाध्यापकसँग के बोल्ने ? उनी विद्यालय सञ्चालक समितिका अध्यक्षलाई भेट्न पुगे। सबै बेलिबिस्तार लगाए विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसम्मको। अध्यक्षले भने– सर यसको छानबिन त म गर्न लगाउँला तर यो कुरालाई यहीँ सीमित राखौँ बाहिर हल्ला नगरौँ। कति हडताल, बन्द भएर दुई महिनादेखि मात्र यो विद्यालय सुचारु भएको हो। म आजै हाम्रो समितिमा कुरा राख्छु र धनुष बनाइदिन लगाउँछु। यस्तै नेतृत्वचाहिँ चुन्नु नपरोस्।