• १४ असार २०८१, शुक्रबार

शुक्रबारदेखि प्लाष्टिकजन्य फूलको बिक्री रोक्न अनुगमन हुने

blog

काठमाडौंको एक पसलमा सजाएर राखिएका कागज र प्लास्टिकबाट बनेका माला । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, कात्तिक ३ गते। वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ। तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूल गुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो। 

बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूल गुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रबारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताउनुभयो। 

उहाँले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीबारको सूचनामार्फत सचेत गराएको उल्लेख गर्नुभयो। 

उहाँले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमाला बिक्री बढ्ने भएकाले रोक लगाउने सरकारको उद्देश्य रहेको बताउनुभयो। घिमिरेले गत साउनदेखि नै  प्लाष्टिकजन्य फूलमालाको आयात प्रतिबन्ध रहेको बताउनु यो। उहाँले तिहार र छठजस्ता पर्वमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १  लाख रुपियाँसम्म जरिवाना गरिने बताउनुभयो। 

उहाँले अनुगमनका क्रममा सरकारको निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को  खण्ड (क) वा (ख) बमोजिम १५ हजारदेखि २० हजार रुपियाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपियाँसम्म जरिवाना हुने सुचनामा उल्लेख अनुसार नै कारबाही गरिने बताउनुभयो। 

उहाँले प्लाष्टिकजन्य फूलमालाहरु बिक्रीवितरण गर्ने र प्रयोग गर्नेका लागि बिहीबार सूचना निकालेर सचेत गराएको भन्दै शुक्रबार माइकिङ गर्ने र अर्को दिनबाट अनुगमन गर्ने तयारीमा विभागको रहेको बताउनुभयो।

 उहाँले सरकारले प्लाष्टिकजन्य फूलमाला आयात गर्ने नै प्रतिबन्ध गरेकाले त्यस्ता वस्तु बजारमा देखिएमा साना व्यापारीभन्दा पनि सामान ल्याउने स्रोत पहिचान गर्न अनुगमन टोली खटाइने बताउनुभयो।