• १२ साउन २०८१, शनिबार

पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

blog

पुरुष भलिबलको उपाधिसहित एपीएफ टिम । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक ३ गते । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको स्वर्ण एपीएफ क्लबले जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा त्रिभुवन आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जितेको हो । 

पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा रह्यो । दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपीएफले २७–२५ ले बाजी मार्‍यो । तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्ट वरिपरि टम्मै भरिएका दर्शकले खेलको भरपुर आनन्द लिए । 

तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपीएफले तेस्रो सेट पनि २६–२४ जितेपछि आर्मीले रजतमा चित्त बुझायो । आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रो पल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । 

यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो । नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपीएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो । बिहीबार नै कांस्य पदकका लागि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । 

पहिलो सेट २६–२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो । पुलिसले दोस्रो र तेस्रो सेट क्रमशः २५–१४ र २५–१८ ले आफ्नो पक्षमा पारेर कांस्य जितेको हो । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।