• १३ साउन २०८१, आइतबार

कैलाली–४ मा पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

blog

अविनाश चौधरी

धनगढी, कात्तिक ३ गते । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला क्षेत्र नम्बर ४ को निर्वाचनलाई सबैले चासोसाथ हेरेका छन् । डडेल्धुरापछि चासो दिइएको यो निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीद्वय  र वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ । दुवै जना आ–आफ्ना पार्टीका सुदूरपश्चिम प्रदेशको नेतृत्वकर्ता रहेका कारण यो निर्वाचन क्षेत्रलाई चासोका रूपमा हेरिएको छ । 

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बलायर चुनाव लड्नका लागि पहिलो पटक कैलाली ४ मा झर्नुभएको छ । तर, नेकपा (एमाले)का प्रदेश इन्चार्ज लेखराज भट्टका लागि भने यो निर्वाचन क्षेत्र नौलो होइन । उहाँले तीन पटक नेकपा (माओवादी केन्द्र) र संयुक्त जनमोर्चाबाट यो क्षेत्रमा चुनाव लडिसक्नुभएको छ । एउटै क्षेत्रबाट यो चौथो पटक उहाँको उम्मेदवारी हो । यसअघि यस निर्वाचन क्षेत्रबाट भट्टलाई दुई पटक जित र दुई पटक हार प्राप्त भएको थियो । 

इन्चार्ज भट्टले २०४८ सालमा कांग्रेसका टेकबहादुर चोख्यालसित पराजय भोग्नुपरेको थियो । यस्तै गरेर माओवादी केन्द्रबाट २०६४ मा संविधान सभा सदस्यमा जित हासिल गर्नुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार दीर्घराज भाटलाई पराजित गरेर उहाँ संविधान सभामा पुग्नुभएको थियो । २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा भने भाटसँगै पराजित हुनुभयो । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सुनीलकुमार भण्डारीलाई पराजित गरेर वाम गठबन्धनबाट उहाँले जित प्राप्त गर्नुभएको थियो । सो निर्वाचनमा भट्टलाई ३१ हजार ३५९ मत र पराजित भण्डारीलाई २० हजार ९६० मत प्राप्त भएको थियो । 

कैलाली क्षेत्र नम्बर ४ मा डोटीबाट झरेका ‘डोट्याल’को भोट भट्टले चुनाव जित्नका लागि निर्णायक बन्दै आएको छ । डोटीबाट झरेका उहाँका गोत्यार, आफन्त, नातेदारले जिताउँदै आएका छन् । तर, यस पटक उहाँको बलियो प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत हुनुभएका बलायर पनि डोटीकै हुनुहुन्छ । जसले गर्दा ‘डोट्याली’ भोट बाँडिने सम्भावना रहेको छ ।   

बलायर यसअघि २०७४ मा डोटीबाट चुनाव लडेर पराजित हुनुभएको थियो । २०६४ को संविधान सभा निर्वाचनमा पराजित उहाँ, २०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने विजयी हुनुभएको थियो । यस पटक डोटीको निर्वाचन क्षेत्र नम्बर १ गठबन्धन सहयात्री दल नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ । पूर्वमन्त्रीसमेत रहनुभएका प्रेम आलेमगर त्यहाँबाट उम्मेदवार हुनुहुन्छ । डोटीमा स्थान नभएपछि कांग्रेसका बलायर कैलाली झर्नुभएको हो । 

भट्ट र बलायर दुवै जना प्रदेशको स्थायी राजधानी बनाउने विषयलाई प्रमुख मुद्दा बनाएर चुनावी मैदानमा हुनुहुन्छ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी नगरपालिकामा बनाउने प्रदेश सभाबाट दुई तिहाइ बहुमतले टुङ्गो लगाइएको थियो । तर, राजधानी बनाउने कार्य कार्यान्वयन हुन सकेको छैन । सोही विषय अहिले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारका लागि प्रमुख मुद्दा बनेको छ । उहाँहरूले जसरी पनि गोदावरीमै राजधानी बनाउने भन्दै मतदाता रिझाउने कार्य गरिरहनुभएको छ । 

क्षेत्र नम्बर ४ मा गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ पर्छन । स्थानीय तहको निर्वाचनमा दुईवटै नगरपालिकामा गठबन्धन दलका उम्मेदवारले जित्नुभएको थियो । गोदावरी नगरपालिकामा नेपाली कांग्रेस र गौरीगङ्गा नगरपालिकामा माओवादीका उम्मेदवारले प्रमुखमा जित्नुभयो । गोदावरी नगरपालिकामा १५ हजार ५०१ र गौरीगङ्गा नगरपालिकामा १३ हजार ७९५ गरी गठबन्धनको पक्षमा २९ हजार २९६ मत आएको थियो । 

यसैगरी दुवै नगरपालिकामा निकटतम प्रतिद्वन्द्वी भई नेकपा (एमाले) उम्मेदवार पराजित हुनुभएको थियो । सो पार्टीलाई गोदावरी नगरपालिकामा ११ हजार २२४ र गौरीगङ्गा नगरपालिकामा छ हजार ६३२ गरी कुल १७ हजार ८५६ मत प्राप्त भएको थियो । 

यस्तै गरेर चुरे गाउँपालिकामा भने नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको थियो । चुरेमा नेकपा (एमाले)ले तीन हजार ३०५ र गठबन्धनको दल एकीकृत समाजवादीले तीन हजार २८१ मत प्राप्त गरेको थियो ।