• ८ मंसिर २०८१, शनिबार

जोखिममा कृषि

blog

काठमाडौँ, कात्तिक ३ गते । प्राङ्गारिक कृषि अभियन्ताले खाद्य प्रणालीको पुनर्जीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताउनुभएको छ ।  

४२औँ विश्व खाद्य दिवसका अवसरमा खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह, अनाजलगायतका विभिन्न सङ्घसंस्थाले संयुक्त रूपमा बुधबार आयोजना गरेको ‘जैविक खेती : खाद्य प्रणालीको पुनर्जीवन’ विषक अन्तक्र्रियामा उहाँहरूले यस्तो बताउनुभएको हो । विषादी कृषि प्रणालीले जनस्वास्थ्यका साथै माटो, पानीलगायत पर्यावरणमा प्रतिकूल असर पारेको र उत्पादन पनि बढाउन नसकेको उहाँहरूले बताउनुभयो । 

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले यसअघि नै गरिएको अध्ययनले नेपालमा रासायनिक मल कारखाना सम्भव देखाएको चर्चा गर्दै अहिले कारखाना स्थापना गर्ने वा नगर्ने भन्नेबारे स्पष्ट हुन नसकेको बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशीले तुलनात्मक रूपमा परम्परागत रैथाने खाद्यान्न बाली बढी स्वस्थकर हुने बताउनुभयो । उन्नत जातका खाद्यान्नमा कार्बोडाइड्रेडको मात्रा बढी हुने तर परम्परागत रैथाने खाद्यान्न सन्तुलित हुने उहाँको भनाइ छ । पछिल्लो समय उन्नत खेती प्रणालीले रैथाने जात लोप हुँदै गएको र नेपाल बीउमा परनिर्भर बन्दै गएको पनि उहाँले बताउनुभयो ।

खाद्यका लागि कृषि अभियन्ता प्रमोद दाहालले हाम्रो कृषि रासायनिक र विषादीका कारण जोखिमपूर्ण अवस्थामा पुगेको भन्दै रासायनिक मल र विषादी नरोकिए भावी सन्ततिमा पनि यही कृषि प्रणाली हस्तान्तरण हुने र उनीहरू पनि जोखिममा पर्ने बताउनुभयो । 

कृषि विभागका उपमहानिर्देक डा. हरिबहादुर केसीले भने पूर्ण प्राङ्गारिक खेती प्रणालीले खाद्य सुरक्षा र खाद्य सम्प्रभुता कायम हुन नसक्ने भन्दै दुवै खेती प्रणालीलाई अगाडि लैजानुपर्ने बताउनुभयो । उत्पादन बढाउन प्रविधिको प्रयोगमा पनि जोड दिनुपर्ने उहाँले बताउनुयभो । खाद्य सुरक्षाको बहस स्थानीय तहसम्म पु-याउनुपर्ने पनि उहाँको भनाइ छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सबनम सिवाकोटीले उत्पादन बढाउनुपर्ने चुनौती रहेकाले रासायनिक मल र विषादी प्रयोग पूर्ण प्रतिबन्धभन्दा पनि क्रमिक रूपमा घटाउँदै लैजानुपर्ने बताउनुभयो । 

कृषक प्रतिनिधि माधव ढुङ्गेलले पढेलेखेकाले नै नेपालको कृषि क्षेत्र ध्वस्त पारेको भन्दै नीति निर्माण तहमा बसेर उनीहरूले द्वैध चरित्र देखाएको आरोप लगाउनुभयो । उहाँले सरकार र कर्मचारीतन्त्रबाट किसानलाई कुनै आशा नरहेको गुनासो गर्नुभयो । कृषक प्रतिनिधि दीपा पुनले व्यापारी र बिचौलियाका कारण किसानले उत्पादन लागतभन्दा कम मूल्यमा कृषिउपज बिक्री गर्नुपरिरहेको गुनासो गर्नुभयो । 

कार्यक्रममा अध्यक्षसमेत रहनुभएका खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले हालको कृषि विकास मोडल नै पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । उन्नत खेती प्रणाली र जलवायु परिवर्तनको असर न्यूनीकरणबीच तालमेल सम्भव नहुने भन्दै उहाँले प्राङ्गारिक कृषि प्रणालीबाट मात्रै जलवायु परिवर्तन असर न्यूनीकरण हुनसक्ने धारणा व्यक्त गर्नुभयो ।