• १९ असोज २०८१, शनिबार

संविधान रक्षाका लागि गठबन्धन : पूर्वमन्त्री खनाल

blog

नारद कोहार

तौलिहवा, कात्तिक १ गते । संविधान रक्षाका लागि गठबन्धन भएको कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार चक्रपाणि खनालले बताउनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनको शुद्धोदन गाउँपालिकाको लबनीमा संयुक्त प्रचार प्रसार समिति कार्यालयको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “संविधानको रक्षा, संसद्को रक्षा र विकासका लागि पाँच दलीय गठबन्धन आवश्यक परेको हो ।” दुई तिहाइको सरकारमा संविधान वा संविधानको कुनै पनि धारा बदल्ने क्षमता रहेको उहाँले बताउनुभयो । संविधानमा भएको अधिकारलाई संसद् विघटन गरेर ओलीले जुन काम गर्नुभयो त्यसको रक्षाका लागि गठबन्धन भएको खनालले बताउनुभयो ।  

त्यस्तै, उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री एवम् प्रतिनिधि सभा क्षेत्र १ को (२) का उम्मेदवार शहसराम यादवले संविधानको कार्यान्वयन गर्न गठबन्धन आवश्यक परेको बताउनुभयो । आउने दिनमा पाँच दलीय गठबन्धनको सरकार हुनेछ र प्रतिगमन शक्तिको पराजय हुने बताउनुभयो । 

कार्यक्रममा कांग्रेस नेता अतहरकमाल मुसलमान, कांग्रेस पूर्व पार्टी सभापति राजेश आचार्य, रामलौटन तिवारी, महेन्द्र पाठक, जितबहादुर थारु, विष्णु शाह, कासीराम यादवलगायत नेता कार्यकर्ताको सहभागिता थियो । 

कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेश समिति सदस्य घरभरन यादव, एमाले जिल्ला नेता राधेश्याम यादव, जनमतका जिल्ला नेता अनिल तिवारीसहित एक सयभन्दा बढी माओवादी केन्द्र प्रवेश गरेका छन् ।