• १९ असोज २०८१, शनिबार

काठमाडौं महानगरको मिठाइ पसल, भान्छा घर र रेष्टुरेन्ट अनुगमन

blog

काठमाडौं महानगरपालिकाको टोलीद्वारा नयाँबानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरको अनुगमन । तस्बिर : महानगर

काठमाडौं, कात्तिक १ गते । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको छ ।

काठमाडौं महानगरपालिकाले मङ्गलबार गरेको अनुगमनका क्रममा स्वास्थ्य विभागको नेतृत्वमा क्रममा वडा नं. १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रा. लि. ले सञ्चालन गरेको थकाली भान्छा, वडा नं. ३१ मा सञ्चालित कोलकत्ता स्वीट्स प्रा. लि., द बर्गर हाउस (सीएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयको अनुगमन गरिएको थियो ।

स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन् । परिकार बनाउने कच्चा पदार्थहरू चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकहरूलाई खास चासो देखिएन । भान्छामा काम गर्नेहरूको व्यक्तिगत सफाइ कमजोर छ । उनीहरूले एप्रोनको सही प्रयोग गरेका छैनन् । फ्रिजमा राखिने वस्तुको व्यवस्थापन कमजोर छ । खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका बस्तुहरूको प्रयोग देखिन्छ ।


यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ ।

निरीक्षण अधिकृत एवम् खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झा भन्नुहुन्छ, “बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो । व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर तीन दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ । थकाली भान्छा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटियो । यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिहरूको आचरणमा सुधार गर्नुपर्ने देखिन्छ ।”


पर्वलक्षित अनुगमनका क्रममा महानगरले बजार अनुगमन गरेको हो । उपभोक्ताहरुले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त सकुन् भन्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइएको जनाइएको छ ।