• १९ असोज २०८१, शनिबार

विकल्पबिना सुकुम्बासीका घर टहरा भत्किँदैनन् : गृहमन्त्री खाण

blog

गठबन्धनको सम्पर्क कार्यालयको उदघाटन कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक १ गते । गृहमन्त्री बालकृष्ण खाणले उपर्युक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासी नागरिकका घर टहरा नभत्काइने बताउनुभएको छ । रुपन्देही – ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका वडा १६ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै सो कुरा बताउनुभयो । 

सुकुम्बासीहरू अहिलेजस्तो अवस्थामा बसेका छन्, त्यस्तै अवस्थामा बस्न पाउनु पर्ने मन्त्री खाणले बताउनुभयो । सुकुम्बासी बसोबास गरेको स्थानबाट सार्नै पर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर व्यवस्थापन गरेर मात्रै सार्नुपर्ने बताउनुभयो ।

अहिले मुलुकभरिका केही नगरपालिकाले महत्त्वपूर्ण चाडपर्वको मुखैमा विकल्पविना सुकुम्वासीका घर टहरा भत्काएपछि गृहमन्त्री खाणले सो धारणा राख्नुभयो । आफूले गृह प्रशासनलाई घर टहरा भत्काउने काममा सहभागी नहुन निर्देशन दिइसकेको बताउनुभयो ।

खाणले इतिहास र भूमिका नभएका राजनीतिक दल र ती दलमा आबद्ध नेताबारे टीकाटिप्पणी गर्नुको औचित्य नभएको उहाँले बताउनुभयो । बुटवलको सेमलारमा कृषि थोक बजार केन्द्र आयोजना अहिले सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको उहाँले चर्चा गर्नुभयो । आयोजना पूरा भएमा रुपन्देहीमा उत्पादित कृषिउपज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हवाईजहाजबाट राजधानी र विदेशमा पठाउन सकिने उहाँले बताउनुभयो ।

यस्तै, खाणले आजै बुटवल वडा १४ र १५ मा समेत सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो । अहिलेको गठबन्धनले देश, संविधान र संसद्को रक्षा गरेको उहाँको दाबी छ ।