• ९ मंसिर २०८१, आइतबार

थुम्पाखरमा व्यावसायिक कालिजपालन

blog

चौतारा, असोज ३१ गते  । जङ्गलीमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जङ्गली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिकरुपमा पालन सुरु गरिएको हो ।

विशेष गरी पहाडी भेगभन्दा माथिल्लो स्थानमा पाइने जङ्गली कुखुरा (कालिज)को मासुको माग स्थानीयस्तरमा बढेको छ । लेक तथा पहाडी जङ्गलमा पाइने जडीबुटी खाएर हुर्कने कालिजको चोरी सिकारी हुँदा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाले घरमै कालिजको व्यावसायिक पालन गरेका हुन् । गाउँमै रोजगारीको वातावरण सिर्जना पनि हुने र युवालाई विदेश पलायन रोक्ने उद्देश्यले कालिजपालन सुरु गरिएको हो ।

स्थानीय युवा मिलेर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा कालिज व्यवसाय थालनी गरिएको रामचन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,“जङ्गलीमा पाइने कालिजलाई लुकीछिपी चोरी सिकारी हुन्छ, यसको रोकथाम हुनुपर्छ भन्ने हामीले ठानेका छौँ । ” उहाँले जङ्गली कालिजकै स्वाद दिलाउने हेतुले घरमै कालिजपालन सुरु गरिएको बताउनुभयो । गाउँकै अन्नलाई दानाको रुपमा प्रयोग गरेकाले जङ्गलीमा पाइने कालिजको जस्तै स्वाद पाइने उहाँको दाबी छ ।

यो व्यवसाय गाउँमै रहेका सात कार्की परिवारका युवा मिलेर गरेका हुन् । उनीहरुले व्यवसायलाई भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि नामकरण गरेका छन् । साँगाबाट रिङनेट जातको कालिजको ५३ चल्ला ल्याएर सुरु गरिएको हो । कालिज अहिले मासुका लागि योग्य भइसकेको जनाइएको छ  । जङ्गलीमा देखेको कालिज काभ्रेको साँगा र पोखरामा रहेको साथीहरुको फार्ममा पालेको देखेपछि हाइड्रोपावर व्यवसायी रामचन्द्रको मनमा पनि आफ्नो गाउँमा कालिजपालन व्यवसाय गर्ने सोच पलाएपछि आफ्ना दाजुभाइको सल्लाहअनुसार व्यवसाय सुरु भएको हो ।

उहाँका अर्का साझेदार यज्ञराज कार्कीका अनुसार मासुका लागि कालिज मात्र नभएर अण्डा र चल्लासमेत उत्पादन गर्ने लक्ष्यका साथ व्यवसायमा सुरु गरिएको हो । “हामी मासुका लागि कालिजसहित चल्ला र अण्डा उत्पादनलाई पनि जोड दिन्छौँ”, उहाँले भन्नुभयो, “हामी मात्रै नभएर सिङ्गो गाउँ र आसपासलाई कालिजको हब बनाउने हाम्रो लक्ष्य हो ।”

राजधानीका विभिन्न रेष्टुराँमा मात्र नभई जिल्लाकै सुकुटेलगायतका पर्यटकीय क्षेत्रका होटलले कालिज उपलब्ध गराउन आग्रह गरेको अर्का सञ्चालक मधुराम कार्की बताउनुभयो । राम्रो उत्पादन नै सुरु नभई पर्याप्त माग आउन थालेको उहाँले बताउनुभयो । उहाँहरु कालिज हेर्न आउने आन्तरिक पर्यटकलाई होमस्टेको व्यवस्था गरी घरमै कालिजको मासु खाने प्रबन्ध मिलाउने तयारीमा लागेका छन् । 

कालिजपालन सुरु गरेसँगै उहाँहरुले केही समस्या पनि झेलिरहनुभएको छ । कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ नहुँदा कुखुरालाई गर्ने उपचार गराउनुपरेको रामचन्द्रले गुनासो गर्नुभयो । अन्य मुलुकमा कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ भए पनि नेपालमा अझै यसको व्यवस्था हुन नसकेको उहाँको गुनासो थियो । कालिजको बीमा गर्ने व्यवस्था नहुँदा जोखिमसमेत आफैँले व्यहोर्नुपर्ने अवस्था रहेको यज्ञले बताउनुभयो । 

“कालिजको बीमा गर्ने कुरा गर्दा ब्रोइलर कुखुराको मूल्यमा गर्नुपर्ने रहेछ”, उहाँले भन्नुभयो “त्यो मूल्यमा बीमा गर्दा त कालिजको मूल्यको पाँच प्रतिशत पनि जोखिम बहन हुँदैन ।” उपचार सेवा र बीमाको व्यवस्था गर्न उहाँहरुले सरकारसँग माग गर्नुभएको छ ।