• २० असोज २०८१, आइतबार

संसदमाथि प्रहार गर्नेलाई चुनावमा दण्डित गर्नुपर्छ : गृहमन्त्री खाण

blog

मायादेवी गाउँपालिका–८ मा आयोजित गठबन्धनको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणलगायत नेता । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, असोज ३० गते । गृहमन्त्री बालकृष्ण खाणले पटक-पटक संसदमाथि प्रहार गर्नेलाई फेरि संसदमा पठाउन नहुने बताउनुभएको छ । 

उहाँले तिनलाई फेरि संसदमा पठाउँदा मुलुकमा शान्ति खलबलिने र अस्थिरता सिर्जना हुने जिकिर गर्नुभयो । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनु भएका कांग्रेस केन्द्रीय सदस्य खाणले आइतबार मायादेवी गाउँपालिका-८ मा आयोजित गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो ।

 ‘‘जननिर्वाचित थलो संसद् जसले दुई–दुई पटक भङ्ग गरे, अहिले उनै फेरि हामीलाई मत दिनुस् र संसदमा पठाउनुस् भनिराखेका छन् । तिनलाई दण्डित गर्ने समय यही हो’’, उहाँले भन्नुभयो ।  

संसद् विघटन गर्नेलाई भेट नभएर चोट दिनुपर्ने उहाँको भनाइ छ । ‘‘हात जोडेर हामीलाई मत दिनुस् भन्दै आइरहेका छन्, संसद् विघटन पक्षधरलाई भोट होइन चोट दिनुस्’’, गृहमन्त्री खाणले भन्नुभयो । फेरि उनीहरूलाई जिताए संसद् भङ्ग गर्नसक्ने भन्दै मतदाता सचेत हुनुपर्ने खाणको आग्रह छ ।

गृहमन्त्री खाणले लोकतन्त्र, संविधानको रक्षा, विकास र समृद्धिका लागि वर्तमान पाँच दलीय गठबन्धन बनेको बताउँदै आउँदो निर्वाचनमा मतदाताले विवेक प्रयोग गर्नुपर्ने जनाउनुभयो  । ‘‘यो गठबन्धन सबै नेपालीको जीवन सहज र सार्थक बनाउन, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्न र विकास गर्नका लागि बनेको हो’’, उहाँले भन्नुभयो, ‘‘यो गठबन्धनले मुलुकलाई सही दिशामा लैजाने छ । शान्ति, राजनीतिक स्थिरता मुलुकका लागि आवश्यक छ ।’’

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सबै दललाई आग्रह

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै दललाई सहयोग गर्न गृहमन्त्री खाणले आग्रह आग्रह गर्नुभएको छ । निर्वाचनबाट जनताले आफ्नो मताधिकारको प्रयोग गरी प्रतिनिधि चुन्ने भएकाले यसलाई बिथोल्ने, हिंसा भड्काउने काम गर्न नहुने उहाँको भनाइ छ । 

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार योगेन्द्र चौधरी, क्षेत्र नम्बर ३ (क)का सत्ता गठबन्धनका उम्मेदवार लोसपाका सन्तोषकुमार पाण्डेय, कांग्रेस नेता तथा प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवार देवीप्रसाद चौधरी र नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ३ का इन्चार्ज तिरबहादुर रोकामगर (डार्बिन) लगायतले सम्बोधन गर्नुभयो ।