• ११ असोज २०८१, शुक्रबार

छठ नजिकिएसँगै बाँसका सामग्रीको बिक्री बढ्यो

blog

जयकृष्ण यादव 

इनरुवा, असोज ३० गते । दशैँ सकिएसँगै सुनसरीको विभिन्न स्थानमा दीपावली र छठको चहलपहल बढेको छ । दीपावली र छठ नजिकिँदै जाँदा यी पर्वलाई लक्षित गर्दै डुम (मरिक) समुदायले बाँसको चोयाबाट बनाएका सामग्रीको बजारमा माग अत्यधिक बढेको छ । 

माग बढेकाले तराईका हाटबजारमा बाँसको सामग्रीको बिक्री पनि बढेको इनरुवा नगरपालिका–२ का राम मरिकले बताउनुभयो । विगतमा अरू बेला खासै बाँसको सामग्री बिक्री नहुने तर छठ आउन दुई साता बाँकी छँदै हाटबजारमा यी सामग्रीको माग र बिक्री बढेको राम मरिकले बताउनुभयो । 

छठ पर्वका लागि बाँसको चोयाबाट ढाकी (ढकिया), नाङ्लो, टपरी, कुनियालगायतका सामग्री बिक्री भइरहेको अर्का स्थानीय रम्भा मरिकले बताउनुभयो । यिनै सामग्रीमा छठ पर्वमा धूप, अगरबत्ती, मिठाई र फलफूल राखेर पूजा गरिने चलन छ ।

यहाँका मरिकले बनाएका बाँसका सामग्री सुनसरी जिल्लाको सदरमुकाम इनरुवासहित लौकही, मधुवन, दुहबी, हरिनगरा, रामनगर भुटाहा, चिमडी, झुम्का र इटहरीसहितका विभिन्न बजारमा बिक्री भइरहेको छ । तराई मधेशमा परम्परागत रूपमै हस्तशिल्पकलामा डुम, डोम, मेहत्तर वा मल्लिक भनेर चिनिने गरेको र उहाँ श्रममा विश्वास गर्दै पुख्र्यौली पेसाका रूपमा बाँसको सामग्री बनाउँदै बिक्री गर्दै जीविकोपार्जन गर्दै आएका छन् ।

विवाह, व्रतबन्ध र चाडपर्वमा तथा धेरै मात्रामा स्थानीयको महान् चाड छठ पर्वलगायत अन्य पूजापाठमा अति आवश्यक रहेको बाँसका सामग्रीको छठको समयमा भने यी सामग्रीको माग बढी हुने गरेको हरिनगरका सुरेन्द्र मरिकले बताउनुभयो । 

मौसमी रूपमा बाँसको सामग्री बनाउने पेसा फस्टाउँदै गएको देखिए पनि समग्रमा समस्याग्रस्त रहेको उहाँको गुनासो छ । केही वर्षदेखि मिथिलाञ्चलमा मात्रै नभएर धरान, इटहरीसहित देशको राजधानी काठमाडौँ र हेटौँडा, पोखरालगायतका स्थानमा पनि छठ पर्व मनाउन थालिएकाले यहाँ बनाइएका बाँसको सामग्री छठ पर्व मनाइने धरान, इटहरी, काठमाडाैँ र विभिन्न सहरमा पनि निर्यात हुने गरेको दाबी गरिएको छ ।

यहाँका मरिक परिवारले प्रतिपरिवार खर्च कटाएर छठ पर्वका बेला एक लाखदेखि तीन लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् । यस वर्ष कात्तिक १४ गते सुनसरीलगायत देशभरि छठ पर्व मनाइने भएको छ ।