• ९ मंसिर २०८१, आइतबार

आयात प्रतिबन्ध हटाउन माग

blog

काठमाडौँ, असोज २७ गते । आयात प्रतिबन्धका कारण व्यवसायीले नोक्सानी बेहोर्नु परेको र तस्करी बढिरहेको भन्दै नेपाल समुद्रपार निकासी पैठारी सङ्घले यो हटाउन माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै सङ्घले छवटा वस्तुको आयात प्रतिबन्ध फुकुवा भए पनि बढी राजस्व हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा सरकारले लक्ष्यअनुसार राजस्व पनि सङ्कलन गर्न नसकिरहेको सङ्घले जनाएको छ । 

अर्कोतर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपियाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नु परेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै प्रतिबन्ध लगाइएका सवारीसाधन र मोटरसाइकलबाहेकका वस्तु अवैध बाटोबाट तस्करी भइरहेको सङ्घको दाबी छ । ‘यो तथ्यलाई मनन गरी बाँकी चारवटा वस्तुको आयातमा लगाइएको प्रतिबन्ध यथाशीघ्र हटाउन यो सङ्घ जोडदार माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।  

सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । 

तीमध्ये छवटा वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार, जिप, भ्यान, तीन डलरभन्दा बढी मूल्यको मोबाइल, १५० सीसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध शुक्रबारसम्मका लागि कायमै छ । 

त्यस्तै सङ्घले बढ्दो ब्याजदर नियन्त्रण गर्न पनि सरकारसँग माग राखेको छ । ब्याजदर बढ्दा व्यवसाय सञ्चालन निकै कठिन भएको र आर्थिक क्रियाकलापमा गिरावट आउँदा व्यापारी, सर्वसाधारण र सरकारी राजस्व सबैमा नकारात्मक असर परेको सङ्घको ठहर छ । बढ्दो ब्याजदरले अर्थतन्त्रलाई मन्दीको अवस्थामा पु-याउने जोखिम उच्च रहेकाले नियन्त्रण गर्नुपर्ने सङ्घको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसबाहेक सङ्घले सहकारी समस्याग्रस्त बन्दा सर्वसाधारणको अर्बौं रुपियाँ जोखिममा परेको भन्दै बैङ्किङ कारोबार गर्ने सहकारीलाई समेत नेपाल राष्ट्र बैङ्कले अनुगमन गर्न आवश्यक रहेको सुझाव दिएको छ ।