नेपालमा बालबालिकाको अधिकार क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको इतिहास लामै छ। संयुक्त राष्ट्रसङ्घदेखि जापान, बेलायत, जर्मनी, फ्रान्स, नर्बे, अमेरिकाजस्ता मुलुकसहित अन्य धेरै सहयोगी देश यस क्षेत्रमा प्रत्यक्ष/परोक्ष रूपमा क्रियाशील छन्। बालबालिकाको क्षेत्रमा काम गरिरहेका यी सङ्घसंस्था तथा सरकारी कार्यक्रमको अध्ययन गर्दा अधिकांश यिनीहरू बालशिक्षा केन्द्रित बाल अधिकारको वरपर मात्र कार्यरत देखिन्छन्। त्यसमा पनि खासगरी यिनीहरू बाल अधिकारको नाममा स्कुल भर्ना कार्यक्रममा बढी केन्द्रित छन्। यिनीहरू नेपालमा गुणस्तरीय शिक्षाभन्दा स्कुल भर्ना, बालपोषणभन्दा खाजा वितरण, बाल मनोविज्ञानभन्दा अभिभावक रिझाउने, बाल मनोरञ्जनभन्दा आनीबानी सुधारमा बढी क्रियाशील छन्।
कुल जनसङ्ख्याको झन्डै २९ प्रतिशत बालबालिका रहेको देशमा जम्मा ३४ हजार ३६८ विद्यालय छन्। शिक्षा क्षेत्रका एक विज्ञ भन्छन्, “नेपाली शिक्षा क्षेत्रको सबै तहमा सामुदायिक, संस्थागत, धार्मिक नाम जे–जे भनिए पनि मूलभूत रूपमा सरकारी र निजी क्षेत्र क्रियाशील छन्। हाम्रो सरकारी शिक्षा नेपाली भर्सनको आयातित शिक्षा हो। जुन हाम्रा लागि ज्ञानमुखी नभई किताबमुखी छ। जसले कारणको खोजी गर्दैन, परिणाममा विश्वास गर्छ। हाम्रा शिक्षक र विद्यार्थी पास वा फेलबीच घुमिरहेका छन्, जीवन उपयोगी वा फलदायी शिक्षामा होइन। यसैगरी नेपाली निजी विद्यालय शिक्षाबारे छोटकरीमा उनी नै भन्छन्, “यो राम्रो कमाउ धन्दा हो। आयातित त्यही नेपाली रूपान्तरितको किताब अङ्ग्रेजीमा छापेर फोटोसहितको थप किताबको भारी।” समग्रमा यही भनाइ नै हाम्रो विद्यालय शिक्षाको शैक्षिक अनुहार हो।
विषयवस्तुको ज्ञानको वरिपरि मात्र घुमिरहेको हाम्रो विद्यालय शिक्षा बाल मनोविज्ञान, बाल मनोरञ्जन तथा अतिरिक्त क्रियाकलापसँग कहिल्यै जोडिँदैन। बालक वा बालिकामा पढाइ सँगसँगै अरू के यस्तो क्षमता छन्, जसमा उसको पढाइभन्दा राम्रो दखल हुनसक्छ। अतिरिक्त प्रतिभा वा रुचि सानैमा पत्ता लगाउन र मलजल गर्न सके ऊ थप प्रतिभावान हुनसक्छ। सानैमा ऊभित्रको प्रतिभालाई सघाउन सके राम्रो लेखक, कलाकार, खेलाडी वा ऊभित्र भएको अरू पनि राम्रोपनमा निखार आउँछ। संसारमै नाम कमाउने सम्भावना रहन्छ। हाम्रो विद्यालय शिक्षा सिर्जनशीलताको सहजीकरणमा पूरै चुकेको छ। त्यसमा पनि सरकारी विद्यालयमा हुने राजनीति, पूर्वाधार, आवश्यक वातावरण, आर्थिक स्रोत र दक्ष जनशक्ति अभावमा यो काम सम्भव देखिँदैन। गरिब राष्ट्रको यथार्थ पनि यही हो। जबसम्म बालबालिकाभित्र रहेको अरू प्रतिभा छनोटदेखि निखार ल्याउने काम सरकारी शिक्षा क्षेत्रको मूल प्राथमिकतामा पर्दैन, हाम्रा प्रतिभा हराउँदै जान्छन्।
नेपालमा हाल सरकारी वा सामुदायिकभन्दा निजी विद्यालय पढ्ने आकर्षण बढी छ। जहाँ अङ्ग्रेजीबाट पढाइन्छ। देशैभरि बोर्डिङ्गको होड छ। बालबालिकाको पढाइको निमित्त सहर पस्नेको सङ्ख्या अत्यधिक छ। विदेशिन बाध्य नेपाली युवाको एक मात्र चाहना आफ्ना सन्तानको राम्रो शिक्षाका लागि बोर्डिङ्ग पढाउनु हो। निजी स्कुलका एक सञ्चालक भन्छन्, बालबालिकाभित्र रहेको प्रतिभा प्रस्फुटनको कुरा छाडौँ, उनीहरूभित्र देखिएका प्रतिभासमेत उजागर हुन पाउँदैन, न स्कुलभित्र न त बाहिर। हामी विद्यालय सञ्चालकको इमानदार कोसिसले मात्र यो सम्भव थियो तर पढाइका लागि पठाएको अभिभावक मानसिकतालाई चिर्न सकिएन। कहिलेकाहीँ स्कुलभित्र गरिने सामान्य अतिरिक्त क्रियाकलापको समेत अभिभावक विरोध गर्छन्। अभिभावक डाक्टर, इन्जिनियर बनाउन पो विद्यालय पठाएको भन्छन्। तसर्थ धेरै स्कुलमा नाम मात्रको गेम टिचर र हाउसहरू छन्।
विकसित देशमा विद्यालय शिक्षामा एउटा असल नागरिक बन्न पढाइ सँगसँगै व्यक्तिभित्र रहेको प्रतिभा वा अतिरिक्त सम्भावना विद्यालयभित्र उजागर होस् भन्ने वातावरण सरकारले उपलब्ध गराउनु राज्यको कर्तव्य ठानिन्छ। यी देशका निजी स्कुल त सिर्जनशीलताको सहजीकरणमा झन् बढी सजग हुन्छन्। विद्यालय शिक्षा समयभित्रै पढाइबाहेक एउटा व्यक्तिमा भएका अतिरितm कुनै प्रतिभा वा क्षमता र सम्भावनाको खोजी गरेर क्षमतालाई थप मलजल गर्न सके पढाइसँगै उसको क्षमतामा पनि निखार आउने निश्चित छ। जसले भविष्यमा असल नागरिक बन्न सघाउँछ। यही
वातावरण अभावमा मानिसमा कुण्ठा, हीनताबोध, निराशा, प्रतिभाहीन मानसिकतामा जीवन बिताउन बाध्य हुने मनोवैज्ञानिक बताउँछन्। तसर्थ अमेरिका र जापानको विद्यालय शिक्षाभित्र अतिरिक्त क्रियाकलापमा लगानी सबैभन्दा बढी छ।
नेपालमा औँलामा गन्न सकिने केही निजी स्कुलबाहेक नाम चलेका स्कुल समेतमा पनि अतिरिक्त क्रियाकलापमा त्यति ध्यान दिइँदैन। अहिले निजी स्कुलमा हाउस कल्चर छ। बालबालिका विभिन्न हाउसमा विभाजित भएर थोरै अतिरिक्त क्रियाकलाप गर्छन्। यतिले अब पुगेन भनेर केही ठूला निजी स्कुल क्लब कल्चरमा उक्लिएका छन्। यसमा रुचि, ज्ञान र जिज्ञासाका आधारमा विद्यार्थी आफँै क्लबहरू बनाउँछन्। यही पनि कतिलाई यो विदेशीको देखासिखी लाग्छ। राम्रो देखासिखीले केही बिगार्दैन। अब सबै निजी विद्यालय सञ्चालकले बुझ्नुपर्छ। यिनीहरूलाई अनुगमन गर्नेले बुझ्नुपर्छ। हाम्रा अभिभावकले बुझ्नपर्छ। एकोहोरो पढाइले सम्पूर्ण व्यक्तित्व विकास सम्भव छैन। सरकारले यस विषयमा अध्ययन गरोस् र सबै सरकारी स्कुलका बालबालिकाले अतिरितm क्रियाकलाप गर्ने वातावरणको कुरै छाडौँ निजी स्कुलमा समेत नाम मात्रैका गेम टिचर छन्। पहिले, विद्यालयको स्तर र विद्यार्थी सङ्ख्याका आधारमा कम्तीमा गेम टिचरको अनिवार्य व्यवस्था गरौँ। अहिले निजी स्कुलमा चलेको हाउस कल्चर सबै स्कुलमा अनिवार्य गरौँ। यसले इन्टरहाउस खेल तथा अतिरितm क्रियाकलापका प्रतियोगिता वर्षका दुई पटक अनिवार्य गराओस्। स्कुलस्तरीय हाउसबीचको प्रतिस्पर्धा बढाइयोस्।
दोस्रो, हाउस कल्चरसँगै अब क्लब कल्चरलाई प्राथमिकता दिइयोस्। स्कुलभित्र बालबालिका आफँैले इच्छा गरेका विभिन्न क्लब खोल्न उकासौँ। क्लब सञ्चालन विधि बनाऔँ। स–साना धेरै क्लब बनाऔँ। जस्तो नाच, नाचभित्र कुन नाच। गान, गानभित्र कुन गान। सङ्गीत, सङ्गीतभित्र कुन सङ्गीत, कस्तो सङ्गीत। यी त केही उदाहरण मात्र हुन्। क्लबहरू विषयगत, प्राविधिक र सामाजिक हुन सक्छन्। सबै प्रक्रियामा बालबालिका आफैँले गरून्। विद्यालय सहयोगीका रूपमा मात्र रहोस्। जति नयाँ र विविध क्लब बन्न सक्छन्, बालबालिकाको व्यक्तित्व विकासमा उत्तिकै मद्दत मिल्नेछ।
तेस्रो बालबालिकालाई प्रतिस्पर्धाका अवसर दिइयोस्। खेलकुदबाहेक अरू पनि विभिन्न विधामा विद्यालयस्तरीय प्रतियोगिता, अन्तरस्कुल प्रतियोगिता, गाउँपालिका, नगरपालिका, उपमहानगरस्तरीय, महानगरीय, प्रदेशस्तरका तथा राष्ट्रिय प्रतियोगितामा सहभागिता गराई बालबालिकालाई सिक्ने सिकाउने अवसर पाउनु र पुरस्कृत हुँदै जानुमा आफूमा रहेको क्षमताको निखारको सम्भावना बढ्छ।
अन्त्यमा, विद्यालय शिक्षामा बालबालिकाले उनीहरूको उमेर सुहाउँदो उनीहरूले रुचाएका प्राविधिक, सामाजिक अनुसन्धानमा बढीभन्दा बढी संलग्न गराउने वातावरण विद्यालयभित्र वा बाहिर दिन सके हाम्रा बालबालिका पढाइसँगै अरू धेरै कुरा लिएर समाजसामु उभिने थिए। अब पनि पढाइबाहेक आफूभित्रको क्षमता पहिचानमा सघाउन हाम्रा अभिभावक, सरकार र निजी विद्यालय सञ्चालकले वातावरण दिएनन् भने आस गरे जति व्यक्तित्व विकासको सम्भावना रहँदैन।