• १३ साउन २०८१, आइतबार

अलपत्र पर्यटकको उद्धार सुरु

blog

फाइल तस्बिर

काठमाडौँ, असोज २७ गते । मनाङ, मुस्ताङ, गोरखा र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा रोकिएका पर्यटकको उद्धार सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकको तत्काल उद्धार गर्न निर्देशन दिएसँगै उद्धार कार्यले गति लिएको छ। निरन्तरको वर्षा, हिमपात र प्रतिकूल मौसमका कारण बीचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका पर्यटकमध्ये बुधबार उपल्लो डोल्पाबाट सात जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

पदमार्ग र आरोहणका क्षेत्रमा झन्डै दुई हजार पर्यटक अलपत्र परेको हुनसक्ने अनुमानसहित उद्धार कार्यमा जुट्न पर्यटन मन्त्रालयले पर्यटन सम्बद्व निकायलाई परिपत्र गरेको थियो। पर्यटन प्रहरी एकाइ भृकुटीमण्डपका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहले आपत्कालीन अवस्थामा रहेका पर्यटकको उद्धार जारी रहेको र केही पर्यटक सडक मार्गबाट फर्किन थालेको बताउनुभयो। 

मुस्ताङ प्रहरीको समन्वयमा बुधबार उपल्लो डोल्पामा अलपत्र परेका दुई जना विदेशी र चार जना स्वदेशी पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई कैलाश एअरको हेलिकोप्टरबाट उपल्लो डोल्पाको नेउलापासबाट उद्धार गरिएको हो। उद्धार गरिएकामा एक जना मलेसियाली र अर्का सिङ्गापुरका नागरिक छन्। 

अध्यागमन विभागबाट असोज १३ गतेसम्म उपल्लो डोल्पा घुम्ने स्वीकृति लिएर गएका उनीहरू हावाहुरी र हिमपातका कारण १३ दिनदेखि डोल्पामै फसेका थिए। 

आरोहणका लागि लुक्ला जाने करिब दुई सय विदेशी पर्यटक मन्थलीमा रोकिएको रामेछाप प्रहरीले जनाएको छ। प्रतिकूल मौसमका कारण लुक्लामा उडान हुन सकेको छैन। हेलिकोप्टरले बुधबार फाप्लु, सुर्खीमा चारवटा उडान गरे पनि लुक्लामा उडान नखुल्दा पर्यटक सडक मार्गबाट फर्किन थालेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार थिङले बताउनुभयो। मौसमकै कारण कतिपय पर्यटक रामेछापबाटै काठमाडौँ फर्किन थालेको समेत उहाँको भनाइ छ।

त्यस्तै सोलुखुम्बु प्रहरीले पछिल्लो तीन दिन यता लुक्लामा उडान नहुँदा पर्यटक सडक मार्गबाट फर्किन थालेका जनाएको छ। बुधबारसम्म लुक्लामा र नाम्चेमा गरेर झन्डै सात सय हाराहारीमा पर्यटक रहेको सोलुखम्बु प्रहरीले जनाएको छ। तेन्जिङ हिलारी विमानस्थलमा उडान अवतरण बन्द भएपछि सोलुखुम्बुको खुम्बु क्षेत्रमा जान हिँडेका पर्यटक फाप्लु विमानस्थलमा रोकिएका छन्।