काठमाडौं, साउन १९ गते । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।
सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टीकृत सेवा र सेवा विस्तारका लागि सङ्घीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सातवटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डाक्टर, नर्सलगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताउनुभयो ।
सो अवसरमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधी, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपिआर, जलनलगायतका विषयमा छलफल भएको थियो ।