बाबुराम शर्मा
चरीकोट, असोज २७ गते । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको मनोनयन पत्र दर्ता सकिएलगत्तै अहिले अधिकांश दोलखाली महिलाको आवाज एउटै बनेको छ– महिलालाई अवसर दिन किन कन्जुस्याइँ ? साक्षरता दर, उच्च शिक्षामा पहुँचको कमी र सार्वजनिक पदमा पुरुषसरह महिलाको सहभागिता हुन नसक्दा महिलाको अवस्था पुरुषको तुलनामा पछाडि पर्न गएको हो त भन्ने साझा प्रश्न छ।
प्रमुख पदमा दाबी गरे पनि खुम्चिएर निर्वाचित हुन पुग्नुभएकी भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले भन्नुभयो, “अहिले आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण भएको छ। महिला जति नै क्षमतावान् भए पनि विभिन्न बहानामा महिलालाई निर्णायक पदमा आउन दिइँदैन। महिलाले महिलालाई साथ नदिने परिपाटीका कारण पनि महिलाले संविधानप्रदत्त अधिकार प्राप्त गर्न कठिन भएको हो। यसका लागि महिला नै एकढिक्का हुनुपर्छ। अर्को विकल्प छैन।”
कालिञ्चोक गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष कालिका पाठकले महिलाले कानुनी अधिकार पाए पनि व्यवहारमा उपेक्षा गरेको अनुभव सुनाउँदै भन्नुभयो, “जबसम्म प्रमुख भएर काम गर्न सकिँदैन, तबसम्म निर्णायक भूमिका निर्वाह गर्न सम्भव छैन। कानुनसँगै मानसिकतामा पनि परिवर्तन आउनुपर्छ। अब अवसर प्राप्त गर्न महिलाहरू लड्नुपर्ने समय आएको छ।”
नेपाली कांग्रेसकी नेत्री गीता सिवाकोटीले भन्नुभयो, “पार्टीगतभन्दा पनि महिला नेतृत्वका लागि सबै महिला एक हुन आवश्यक छ। महिलालाई अवसर नदिन नैतिकताका प्रश्न र आर्थिक हैसियतको तुलना गर्ने काम सबै पार्टीको परिपाटी बनेको छ। महिलालाई अवसर मात्र दिए चुनाव जितेर देखाउँछन्। महिला प्रायः हारेका छैनन्, बरु हराइन्छ।”
अहिले पार्टीमा पैसासँग क्षमताको तुलना गर्ने प्रवृत्ति बढेको उहाँले बताउनुभयो। “क्षमता भएर पनि अवसरबाट कहिलेसम्म वञ्चित हुने ?” उहाँले भन्नुभयो। नेकपा (माआवादी केन्द्र) बागमती प्रदेश समिति सदस्य रीता रिमालले भन्नुभयो, “दलका पुरुषहरूले घेराबन्दी गरेका छन्। हाम्रा भ्रातृ
सङ्गठनहरू पनि दह्रा हुनु आवश्यक छ।” आन्तरिक सङ्घर्ष रहे पनि व्यवहारमा आउन नसकेकाले महिला उम्मेदवार बन्न वञ्चित हुनु परेको उहाँको भनाइ थियो।
नेकपा (एमाले)की नेत्री डा. जानुका न्यौपानेले भन्नुभयो, “३३ प्रतिशत पहिला सहभागिता कागजमा मात्र लेखियो। हामीमाथि उपेक्षा भएको छ। यसो हुनुमा दल र गठबन्धक बाधक रहेको देखिन्छ। आरक्षाणको नामले पनि राम्रो गरेको छैन।”