• ९ मंसिर २०८१, आइतबार

मोतियाबिन्दु भएका नेपालगञ्जका सबैको निःशुल्क शल्यक्रिया गरिने

blog

नेपालगञ्ज उपमहानगरपालिका कार्यालय । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, असोज २६ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगरभित्र बसोबास गर्ने मोतियाबिन्दु भएका सबै नागरिकको निःशुल्क शल्यक्रिया गर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ ।

सोका लागि पहिलो चरणमा उपमहानगरका वडा नम्बर १ देखि ९ सम्मका वडाहरुमा मोतियाबिन्दु छनोट शिविरको आयोजना गर्ने निर्णय गरेर यही असोज २७ गतेबाट शिविर आयोजना गरिने नेपालगञ्जका उपमेयर कमरुद्दीन राईले बताउनुभयो ।

उहाँले स्थानीय निर्वाचनको बेला जनता समाजवादी पार्टीले तयार गरेको घोषणा पत्रमा उपमहानगरका सबै नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गराइने भनि प्रतिबद्धता गरिएकोमा सोही पूरा गर्न यो कार्यक्रम ल्याइएको बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका उपमहानगरभित्रका विपन्न नागरिकले आर्थिक अभावले मोतियाबिको शल्यक्रिया गराउन नसकी समस्यामा परेकाले उनीहरुलाई सहजताका लागि सबैको निःशुल्क अपरेशन गराइने बताउनुभयो ।

उपमेयर राईले छनोट शिविरहरुमा आँखा जाँच गराउन जान सबै नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले निर्वाचनमा गरिएका सबै प्रतिबद्धता क्रमशः पूरा गर्दै जाने पनि बताउनुभयो ।

वडा कार्यालयहरु र उपमहानगरको सिफारिसमा मोतियाबिन्दु देखिएका सबैको निःशुल्क शल्यक्रिया गरिने उपमहानगरपालिकाले जनाएको छ ।

यसअघि सो कार्यका लागि उपमहानगरपालिकाले असोज ११ गते नेपाल नेत्र ज्योती सङ्घद्वारा सञ्चालित फत्तेवाल आँखा अस्पतालसँग सम्झौता गरेको थियो ।

उपमहानगरपालिकाले दिएको जानकारीअनुसार असोज २७ गते वडा नम्बर १, कात्तिक १ गते वडा नम्बर २, कात्तिक २ गते वडा नम्बर ३, कात्तिक ४ गते वडा नम्बर ४, कात्तिक ४ गते वडा नम्बर ५, कात्तिक १४, १५, १६ र १७ गते क्रमशः वडा नम्बर ६,७,८ र ९ का शहरी स्वास्थ्य केन्द्रमा छनोट शिविरको आयोजना गरिनेछ । 

अन्य वडाहरुको हकमा दोस्रो चरणमा गरिने गरी केही दिनपछि सूचना निकालिने उपमेयर राईले बताउनुभयो ।