• ११ असोज २०८१, शुक्रबार

जीर्ण बन्यो सामुदायिक भवन

blog

धनकुटास्थित जीर्ण सामुदायिक भवन । तस्बिर : गोरखापत्र

कबिराज घिमिरे

धनकुटा (हिले) असोज २५ गते । धनकुटा सदरमुकाममा आयोजना हुने जुनसुकै कार्यक्रमका लागि उपयुक्त थलोको हो, सामुदायिक भवन । यस भवनमा राजनीतिक दलका सभा सम्मेलनदेखि साँस्कृतिक कार्यक्रम, विवाहका पाटी उत्सव, खेलकुदका इन्डोर प्रतियोगिता, विभिन्न सामाजिक संस्थाहरुको कार्यक्रमहरु हुने गर्छन् । तर, मर्मत सम्भार चासो नदेखाउँदा पछिल्लो समय सामुदायिक भवन जीर्ण वन्दै गइरहेको छ । यो मर्मत गर्न तर्फ भने कसैको ध्यान गएको पाइदैन ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन नजिकिदै छ । निर्वाचन नजिकिएसँगै धनकुटास्थित सामुदायीक भवन समेत धेरै ब्यस्त हुन्छ । किनकी निर्वाचनका सम्पूर्ण कार्यक्रम सहित मतगणना यही भवनमा हुने गरेको छ । मुख्य निर्वाचन अधिकृतका कार्यलय स्थापना भई निर्वाचनको सम्पूर्ण कार्यक्रम समेत यही सञ्चालन हुन थालिसकेको छ ।

यो वाहेक राजनीतिक दलका सभा सम्मेलन, साँस्कृतिक कार्यक्रम, विवाहका पाटी उत्सव, खेलकुदका इन्डोर प्रतियोगिता, विभिन्न सामाजिक संस्थाहरुको कार्यक्रम समेत हुने यो भवन वर्षभरिनै ब्यस्त रहन्छ । र, भवन जीर्ण बन्दा समेत मर्मत र रङरोकनमा कसैको ध्यान पुग्न सकेको छैन ।

करिव ४५ वर्षअघि यस सामुदायिक भवन निर्माण भएको हो । पञ्चायत कालमा निर्माण भएको यो भवनमा अहिले पनि आर्कषण छ । कार्यक्रम प्राय भइरहने भवनका कर्मचारी भुपेन्द्रबहादुर कार्की बताउनुहुन्छ । ‘‘एक वर्षमा १०० दिन भन्दाबढी त यो भवन ब्यस्तनै रहन्छ,’ कार्कीले भन्नुभयो ।

तत्कालीन नगर विकास योजनाले वि.सं २०३५ सालमा भवन निर्माण गरेको हो । भवन भित्र करिव तीन सय जना अट्न सक्ने क्षमताको सभाहल, स्टोर, चेन्जिङ रुम, वाहिरी कम्पाउण्ड लगायतको संरचना छ । भवनका भित्तामा गरिएको प्लास्टर उप्किन थालेको छ । चर्किन थालेको छ । 

नियमित सरसफाई नहुदा शौचालय दुर्घन्दित छ । भवन भित्रको लाइटिङ सिस्टमले काम गर्न छोडेको छ । इको सिस्टम नआओस् भनेर सभाहलको भित्तामा पराल राखिएको छ । नियमित संरक्षणको अभावले ती भित्तामा राखिएको पराल समेत उप्किएको अवस्था छ । भुईको ढलान समेत उक्किएको छ । त्यो बेला मंहगोमा खरिद गरि राखिएको फर्निचर काम नलाग्ने भएका छन् । 

२५ वर्ष यता सामुदायिक भवनको मर्मत सम्भार हुन सकेको छैन । २०५५ सालतिर एक पटक रंगरोगन भएको र त्यसयता रंगरोकन र मर्मत सम्भारका कुनै काम हुन नसकेको सामुदायिक भवनका पूर्व कर्मचारी गोविन्द श्रेष्ठ बताउनुहुन्छ ।

“त्यो बेला मात्र हैन अहिले पनि धनकुटाको एक महत्वपूर्ण भवन हो । तर दिनानुदिन जीर्ण हुदैछ । मर्मतमा कसैको चासो गएको छैन,” श्रेष्ठ भन्नुहुन्छ । पञ्चायतकाल तथा २०४६ साल यता यस भवनमा धेरै महत्वपूर्ण कार्यक्रम भएको श्रेष्ठले स्मरण गर्नुभयो । 

सामुदायिक भवन प्रयोग गरेवापत प्रतिदिन दुई हजार रुपियाँ भाडादर निर्धारण गरिएको छ । पार्किङ सुविधा सहितको सरकारी तवरको सामुदायिक भवन मर्मत सम्भारको अभावले जिर्ण बन्दा स्थानीय चिन्तित छन् । नगर विकास समितीको स्वामित्वमा रहेको यस भवन केही वर्ष अघिमात्रै धनकुटा नगरको स्वामित्वमा आएको हो ।

यता धनकुटा नगरपालिकाले भने जीर्ण सामुदायिक भवनको मर्मत सम्भारसँगै नयाँ भवन आवश्यक रहेको जनाएको छ । नयाँ भवन निर्माणको लागि जग्गाको खोजी भईरहेको र पुरानो भवनको समेत मर्मत गर्ने तयारी गरिएको नगर प्रमुख चिन्तन तामाङले बताउनुभयो ।