• १३ साउन २०८१, आइतबार

चौधरी र थारूको उम्मेदवारी खारेज

blog

धनगढी समाचारदाता

धनगढी, असोज २६ गते  । नागरिक उन्मुक्ति पार्टीका दुई नेता रेशम चौधरी र लक्ष्मण थारू (चौधरी)को उम्मेदवारी खारेज भएको छ। चौधरीले बर्दिया क्षेत्र नम्बर २ र थारूले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको थियो। टीकापुर घटनामा दोषी ठहर भई चौधरी जेलमा हुनुहुन्छ। 

फरार सूचीमा रहनुभएका थारूले वारिसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो। प्रतिनिधि सभा सदस्यका लागि सोही क्षेत्रबाट उम्मेदवारी दिनुभएका रामबहादुर सिंहले थारूको उम्मेदवारी खारेज गरिपाउँ भनेर उजुरी दिनुभएको थियो। सो उजुरीको आधारमा थारूको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ। 

टीकापुर घटनामा संलग्नताको आरोपमा पुर्पक्षमै साढे तीन वर्ष कैद सजाय भुक्तान गर्नुभएका उहाँ २०७५ मा रिहा हुनुभएको थियो। तर उच्च अदालत दिपायलले कैलाली जिल्ला अदालतको फैसला उल्टाउँदै उहाँलाई पुनः दोषी नै ठहर गरेको छ। त्यस बेलादेखि थारू फरार सूचीमा रहनुभएको छ।  

उम्मेदवारी दर्ताको दिन उहाँ निर्वाचन अधिकृतको कार्यालय पुगे पनि वारिसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको थियो। सङ्घीय कानुनबमोजिम लक्ष्मण थारू प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन योग्य नदेखिएकाले उहाँको मनोनयनपत्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा ३१ (६) बमोजिम खारेज हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ।