• १३ साउन २०८१, आइतबार

सभापति देउवाद्वारा उजुरीको जवाफ पेस

blog

पुष्कर भण्डारी

डडेल्धुरा, असोज २५ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाउनुभएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा. आरजु राणा देउवामार्फत उजुरीको जवाफ बुझाउनु भएको हो । 

देउवाले पठाउनुभएको जवाफ मङ्गलबार बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । देउवाले प्रमाणसहित जवाफ पठाएको उहाँले बताउनुभयो । निर्वाचन आयोगले आज २ बजेसम्म जवाफ दर्ता गराउने समय तय गरेको थियो । 

‘आज बिहान साढे ११ बजे प्रधानमन्त्री देउवाज्यूले पठाउनुभएको जवाफ कार्यालयमा दर्ता भएको छ, जवाफ हेरेर बेलुकी ५ बजेसम्म निर्णय लिन्छौं’ निर्वाचन अधिकृत वाग्ले भन्नुभयो । देउवाका विपक्षी नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले सोमबार जन्म मिति फरक भएको भन्दै उजुरी दर्ता गराउनुभएको थियो ।   

निर्वाचन आयोगले आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो । देउवाको नागरिकतामा जन्म मिति वि.सं. २००३ जेठ ३१ गते छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको पाइएको छ । देउवा सातौँ पटक डडेल्धुराबाट निर्वाचन लड्दै हुनुहुन्छ ।

यसअघि उहाँ २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ निर्वाचनमा डडेल्धुराबाट विजयी भइसक्नुभएको थियो । २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली –६ बाट पनि उहाँ विजयी हुनुभएको थियो । 

२०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका देउवा २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी पाँच पटक प्रधानमन्त्री बन्नुभयो ।