काठमाडौँ, चैत ७ गते । काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा शुक्रवार मुसलधारे वर्षा भएको छ। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हावाहुरी, चट्याङ र असिनासहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाका कारण काठमाडौँ उपत्यकासहित बुटवल, अर्घाखाँची, ओखलढुङ्गा लगायतका क्षेत्रमा दिउँसै अन्धकार छाएको थियो भने जनजीवन केही समय अस्तव्यस्त बनेको छ । मौसमविद्का अनुसार कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा वागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
महाशाखाले कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै यसअघि नै सतर्कता अपनाउन अनुरोध गरेको थियो । लामो समयदेखिको सुक्खापन र बढ्दो वायुप्रदूषणलाई यो वर्षाले कम गराएको छ । धुलो र तुवाँलो हटेपछि वायुमण्डल सफा देखिएको छ भने हिउँदे बाली र लगाउने तयारीमा रहेका बर्खे बालीका लागि यो वर्षाले राहत पुर्याएको छ ।
वर्षासँगै आएको हावाहुरी र असिनाले कतिपय स्थानमा फलफूल र तरकारी खेतीमा सामान्य क्षति पुर्याएको विवरण समेत प्राप्त भएका छन् । मौसममा आएको यो परिवर्तन अझै केही समय कायम रहने अनुमान गरिएको छ ।






