• १३ असोज २०८१, आइतबार

किराँतकालीन ढुङ्गेधारा पुनर्निर्माण

blog

दोलखा समाचारदाता

चरीकोट, असोज २५ गते । दोलखाको भीमेश्वर नगरपालिका–२ को ऐतिहासिक सहर दोलखाको किराँत कालमा निर्माण भएको भनिएको राइती (ढुङ्गेधारा)को पुनर्निर्माण सम्पन्न भएको छ। जीर्ण अवस्थामा रहेको यो धारा बागमती प्रदेश सरकारको खानेपानी महाशाखाबाट प्राप्त सहयोग र जनश्रमदानसमेतमा यहाँको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत पुनर्निर्माण सम्पन्न भएको समितिका सचिव अनिल श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँका अनुसार प्रदेशको ५० लाख र श्रमदान पाँच लाख ७७ हजार ५४७ गरी जम्मा ५५ लाख ७७ हजार ५४७ रुपियाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको हो। प्राचीन कालमा निर्माण गरिएको मानिने यो धाराको दीर्घकालीन संरक्षणका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले यो धाराको महिलाको मात्र प्रतिनिधित्व रहेको सात सदस्यीय संरक्षण समिति निर्माण गरेको छ। 

नियमित सरसफाइ र दिगो रूपमा सञ्चालनका लागि दुई लाख ५० हजार रुपियाँको अक्षयकोष पनि स्थापना गरिएको सचिव श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, “राइतीमा रहेका तीन धारामध्ये बीचमा ठूलो धारा छ। छेउका दुई धारा मकर आकारका छन्। धाराका विभिन्न भागमा वराह, हनुमान, कृष्ण र नरसिंह नारायणका प्राचीन मूर्ति रहेका छन्। यहाँ रहेको सरस्वतीको मूर्ति भने हराइसकेकाले नयाँ स्थापना गरिएको छ।” 

योसँगै झिँगटीको छानो रहेको आकर्षक पाटी पनि प्राचीन शैलीमा निर्माण गरिएको छ। दोलखा सहरमा रहेका अन्य ढुङ्गेधाराको पनि जीर्णोद्धारको काम सुरु गरिएको छ। इतिहासमा चासो राख्ने स्थानीय तीर्थनारायण जोशीका अनुसार आफ्नै इतिहास बोकेको यो धाराबाट घटस्थापनाको दिन त्रिपुरासुन्दरी, तलेजु मन्दिरलगायतका सबैको कल्याणका निम्ति चोखो पानी थाप्नुअघि त्रिपुरासुन्दरीका पुजारी तथा पुरोहितले विशेष पूजा गरेपछि मात्र चोखो पानी थाप्ने चलन आज पनि यथावत् रहेको छ। यहाँ घटस्थापना, महाष्टमी तथा माघ गाउने समयमा र जनैपूर्णिमाका दिन मेला लाग्ने गर्छ। दोलखामा कलधारा नहुँदा दोलखावासी ९० प्रतिशतले पिउने पानीको स्रोत नै यही हो।