• १३ साउन २०८१, आइतबार

नागरिकता नहुँदा सुविधाबाट वञ्चित

blog

कोल्टी समाचारदाता 

बाजुरा, असोज २५ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का ६२ वर्षीय दुरपति सार्कीको परिवारले नागरिकता नपाउँदा राज्यबाट प्राप्त हुने सेवा सुविधा पाउन सकेका छैनन् । 

लामो समयदेखि पति छाडेर माइती बसेकी दुरपतिले समेत नागरिकता पाएका छैनन् । आमाको नामबाट नागरिकता लिन सकिने कानुनी व्यवस्था भए पनि दुरपतिका २७ वर्षीया छोरी मना सार्की र २२ वर्षीय छोरा तेज सार्कीको समेत नागरिकता बनेको छैन । 

दुरपतिका छोरा तेज दुष्टिविहीन हुनुहुन्छ । नागरिकता वा अन्य कुनै प्रमाण नभएका कारण उहाँको परिवारले राज्यबाट पाउने सेवा सुविधा पाउन सकिरहेको छैन । नागरिकता नहँुदा दुरपतिका दृष्टिविहीन छोराले अपाङ्गता भत्ता पाउनबाट वञ्चित हुन परेको वडाध्यक्ष भक्तबहादुर बुढाले बताउनुभयो ।

आर्थिक अवस्था निकै कमजोर रहेको दुरपतिले नागरिकताका लागि प्रयास गरे पनि नागरिकता बनाउन सक्नुभएको छैन । दुरपतिले बझाङको खप्तडछान्ना गाउँपालिका–६ विणाका मदन सार्कीसँग विवाह गर्नुभएको थियो । श्रीमान्ले अर्को विवाह गरेपछि उहाँ बालबच्चा बोकेर १७ वर्षदेखि बाजुराको माइतीघरमा बस्दै आउनुभएको छ । १७ वर्षदेखि श्रीमान् आफ्नो सम्पर्कमा नरहेको र अर्को विवाह गरेको खबर मात्र पाएको दुरपतिले बताउनुभयो । 

आफू अनपढ भएकाले नागरिकता कसरी बनाउने भन्ने पनि थाहा नभएको उहाँले बताउनुभयो । उहाँको छोरा तेज तीन वर्षको हुँदा दादुरा रोगबाट ग्रसित भएपछि दुष्टिविहीन बन्नुभएको हो । तेज अहिले दुवै आँखा नदेख्ने भएको दुरपतिले बताउनुभयो । 

खप्तड छेडेदह गाउँपालिका–२ का वडाध्यक्ष बुढाले उहाँलाई नागरिकता दिनका लागि पहल भइरहेको बताउनुभयो । यसका लागि जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको उहाँले बताउनुभयो ।