• १३ साउन २०८१, आइतबार

भजनीका विस्थापितको बिचल्ली

blog

धनगढी समाचारदाता

धनगढी, असोज २५ गते । कैलालीको भजनी नगरपालिका बाढीको डुबानका कारण सात सय ७२ घरपरिवार विस्थापित भएका छन् । शुक्रबारदेखि बस्तीमा बाढी पसेको थियो ।

नगरपालिकाका विपत् व्यवस्थापन स्रोतव्यक्ति खेम पनाडीका अनुसार नगर क्षेत्रभरि दुई हजार ८६ घरधुरी बाढीले प्रभावित भएका छन् । विस्थापित भएकामध्ये धेरैजसो हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेका छन् । केही मानिस भने विद्यालयमा बसिरहेका स्रोतव्यक्ति पनाडीले जानकारी दिनुभयो । बाढीले विस्थापितको बिचल्ली भएको छ । झरीमा भिजेका कारण धेरैजसो व्यक्ति र बालबालिकामा स्वास्थ्य समस्या देखिएको छ । आफूहरू चार दिनदेखि भोकभोकै बस्न बाध्य भएको दुखेसो भजनी नगरपालिका–८ का रामकिसन चौधरीको छ । उहाँका अनुसार धेरैजसोलाई ज्वरो, टाउको दुख्ने, रुघाखोकीजस्ता स्वास्थ्य समस्या भइरहेको छ ।

उहाँले भन्नुभयो, “मान्छे बिरामी परिरहेका छन् । कैयौँ दिनदेखि भोकभोकै छौँ । घरभित्र पानी पसेको छ । सडकमा पानी परिरहेको छ । कहाँ खाना बनाउने ? के खाने ?”

बाढीबाट जनजीवन कष्टकर बन्दै गए पनि कतैबाट राहत नपाएको बाढीपीडित लालप्रसाद न्यौपानेले दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “चार दिनदेखि सडकमा त्रिपाल टाँगेर बसिरहेका छौँ । बालबालिकालाई समस्या भएको छ ।”

प्रभावितलाई स्थानीय सरकारले आइतबार राति सुक्खा खाद्यवस्तु र पानी बाँडेको छ । त्यसकै भरमा गुजारा भइरहेको स्थानीय खेमराज पाण्डेयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पटक–पटक डुबान भएपछि यहाँ धेरै समस्या भएको छ । नेताहरूलाई चुनाव लागेको छ । तर जनता बिचल्लीमा छन् ।” कान्द्रा, काँढा, पथरैया नदीमा आएको बाढीका कारण यस वर्षमात्रै भजनीमा कैयौँ पटक डुबान भइसकेको छ । 

यसैबीच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले आइतबार राति विस्थापितलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । भजनीको सोनाफाँटास्थित हुलाकी राजमार्गमा त्रिपाल टाँगेर बसिरहेका र टीकापुर नगरपालिकाको बैदीका प्रभावित परिवारलाई भेटेर उहाँले सान्त्वना दिनुभएको हो । त्यसक्रममा स्थानीयले आफूहरूको जग्गाको मालपोत मिनाहा हुनुपर्ने माग गरेका थिए ।