• १३ साउन २०८१, आइतबार

महोत्तरीमा आठ प्रतिशत महिला उम्मेदवार

blog

महोत्तरी क्षेत्र नं १ को बर्दिबासस्थित निर्वाचन अधिकृतको कार्यालयमा प्रदेश सभाका लागि मनोनयन दर्ता गराउँदै महिलाहरू ।

बर्दिबास, असोज २५ गते । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरीबाट ८ प्रतिशत महिलाले उम्मेदवारी दर्ता गराएका छन् । महिलाहरूको नैराश्यपूर्ण सहभागिताले अनेकन् प्रश्न खडा गरेको भन्दै महिलाहरूले राजनीतिक दलहरुसँग आपत्ति जनाएका छन् । 

महिला अधिकार, उत्थान र समावेशीका हिमायती भएको दाबी गर्ने दलहरू नै महिला उम्मेदवारका सवालमा पछि हटेको पाइएको छ । जिल्लाका ४ प्रतिनिधि र ८ प्रदेशसभा गरी १२ सिटका लागि २३९ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये २१ जना महिलाले मात्र मनोनयन दर्ता गराउनुभएको छ । यो सङ्ख्या कुल उम्मेदवारको साढे ८ प्रतिशत मात्र हो । यो प्रतिशतले संविधानले महिलाका लागि प्रत्याभूत गरेको ३३ प्रतिशतको उपहास भएको महिला नेत्रीहरूको गुनासो छ । 

चारै क्षेत्रका निर्वाचन अधिकृतले जारी गरेको पछिल्लो रिपोर्टअनुसार प्रतिनिधि सभाका ४ सिटका लागि ६९ जनाले मनोनयन दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या ५ अर्थात् २ प्रतिशत मात्र छ । प्रदेश सभाका ८ निर्वाचन क्षेत्रमा १७० जनाले मनोनयन दर्ता गराएकामा ६ स्वतन्त्र गरी १६ जना अर्थात् ९ प्रतिशत महिलाको मात्र उम्मेदवारी परेको छ ।

पूर्व प्रदेश सांसद एवं नेकपा एमालेकी नेत्री शारदादेवी थापा निर्वाचनमा महिलाहरूको न्यून सहभागितालाई विभिन्न कोणले विश्लेषण गर्नुहुन्छ । उहाँको भनाइमा दलहरूले महिलाको नेतृत्व र अस्तित्वलाई नस्वीकार्ने प्रवृत्तिका कारण संविधानले प्रत्याभूत गरेको ३३ प्रतिशत आरक्षणबाट समेत वञ्चित हुनुपरेको हो । ‘कानुनलाई बाध्यकारी नपारेसम्म संविधानमा लेखेर मात्र नहुने रहेछ’ पूर्व प्रदेश सांसद थापाले भन्नुभयो ।  कतिसम्म उपेक्षा गरिएको छ भने प्रतिनिधि सभाका लागि त निर्वाचन क्षेत्र नं २ र ४ बाट एक जना महिलाको पनि उम्मेदवारी परेन । प्रदेश सभाका लागि भने सबैभन्दा बढी क्षेत्र नं १ बाट ७ जना महिलाले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै २ बाट ३ जना, ३ बाट २ जना र ४ बाट ४ जना महिलाले मनोनयन गरेको निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएका छन् । 

यो पटक महोत्तरीमा साना ठुला २४ वटा पार्टी चुनावी मैदानमा देखापरेका छन् । तर सबैभन्दा बढी राप्रपा नेपालबाट ५ महिलाले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै राप्रपा, एमाले, लोसपा, नेकपा एकीकृत समाजवादी लगायत ११ पार्टीले मात्र महिलालाई अवसर दिएको देखिएको छ । 

अघिल्लो निर्वाचनको तुलनामा भने महिला उम्मेदवारको सङ्ख्या बढेको छ । ०७४ को निर्वाचनमा महोत्तरीमा प्रतिनिधि र प्रदेश सभाका गरी २ सय १३ उम्मेदवारी दर्ता भएको थियो । यसमध्ये प्रतिनिधिसभाका २ र प्रदेश सभामा १२ गरी १४ जना महिलाले मात्र मनोनयन दर्ता गराउनुभएको थियो । त्यस निर्वाचनमा पनि क्षेत्र नं ३ र ४ मा प्रतिनिधिसभाका लागि एक जना पनि महिला उम्मेदवार थिएनन् भने निर्वाचन क्षेत्र १ को (ख) र क्षेत्र नं ३ को प्रदेश (क) मा पनि महिलाको उम्मेदवारी परेको थिएन ।
Author

रवीन्द्र उप्रेती