• १३ असोज २०८१, आइतबार

विद्रोही उम्मेदवारद्वारा गठबन्धनलाई चुनौती

blog

विद्रोही उम्मेदवार दिनेश कोइराला, राजेन्द्र बुर्लाकोटी र जगन्नाथ पौडेल ।

चितवन समाचारदाता

चितवन, असोज २५ गते । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकाविरुद्ध चितवनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्वतन्त्र रूपमा उम्मेदवार बन्नुभएको छ। चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसले राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्वनाथ पौडेललाई उम्मेदवार बनाएको छ। उहाँविरुद्ध कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्नुभएको छ। अवसरको खोजीमा नेकपा एमाले हुँदै दुई वर्षअगाडि कांग्रेस हुनुभएका विश्वनाथलाई टिकट दिएकाले पार्टी जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको बुर्लाकोटीले बताउनुभयो। 

“४० वर्षदेखि पार्टी राजनीति गरेर आएँ, उम्मेदवार कोही नभएका बेला घरमा बस्दा मलाई टिकट दिए पार्टी जोगाएँ अहिले जित्ने अवसर आउँदा अर्कैलाई टिकट,” उहाँले भन्नुभयो, “दुःखमा पार्टी जोगाउनेलाई लत्याएर अवसरवादीलाई टिकट दिने प्रवृत्तिको विरोधमा उम्मेदवारी हो, कुनै पनि हालतमा फिर्ता हुँदैन।” 

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टीको निर्णयविरुद्ध केन्द्रीय सदस्य दिनेश कोइराला र स्थानीय चुनावमा बागी उठेका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। विधि विधान र पद्धतिविरुद्ध नेता चलेकाले स्वतन्त्र उम्मेदवार दिएको उहाँहरूले बताउनुभयो। पार्टीभित्र दर्जनौँ पटक आवाज उठाउँदा पनि नेतृत्वले नसुनेपछि बाध्य भएर उम्मेदवारी दर्ता गरेको केन्द्रीय सदस्य कोइरालाले बताउनुभयो। 

“कहिले राप्रपालाई कहिले प्रचण्ड र उहाँकी छोरीलाई छाड्नुपर्ने, कांग्रेसको पकड भएको क्षेत्रमा माओवादीलाई दिँदा पार्टी सकिने भयो भन्दै आवाज उठाउँदा सुनवाइ भएन। यस पटक प्रचण्ड यहाँबाट लड्नुहुन्न भनेर मैले आवाज उठाएँ तर सुनिएन,” नेता कोइरालाले भन्नुभयो, “यो ३ नं. क्षेत्र कांग्रेसलाई चाहिन्छ भनेर मैले पटक–पटक कुरा उठाएँ तर प्रचण्ड नउठ्दा पनि उहाँकै पार्टीलाई सहयोग गर्ने निर्णय गरियो।” 

पार्टी अब धनवाद र डनवादमातर्फ गयो नीति र विधानअनुसार नचले सच्चा नेताले गलत गर्ने नेतृत्वको विरुद्धमा आवाज उठाउनै पर्छ। ढिलो चाढो मात्र हो अब धेरैले गलत निर्णय गर्ने नेतृत्वको खुलेर विरोध गर्ने दिन आउाछ। नेताहरूको यस्तै गलत कार्यले गर्दा जनतामा पार्टीप्रति वितृष्णा पैदा भएको कोइरालाले बताउनुभयो। 

उहाँसँगै जगन्नाथ पौडेलले प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गराउनुभएको छ। यसअगाडि पनि उहाँले पार्टीले गलत निर्णय गरेको भन्दै स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखमा उम्मेदवार बन्नुभएको थियो। उहाँले १४,७२८ मत प्राप्त गर्नुभएको थियो। पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै उहाँ र उहाँका प्रस्तावक, समर्थकहरूलाई पार्टीले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ। 

यस निर्वाचन क्षेत्र माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा गए पनि यो क्षेत्र माओवादीको कोटामा परेको भन्दै गठबन्धनबाट डा. अधिकारी उम्मेदवार बन्नुभएको हो। 


पौडेलविरुद्ध उजुरी

प्रतिनिधि सभा क्षेत्र नं. १ मा उम्मेदवारी दिनुभएका कांग्रेसका डा. विश्वनाथ पौडेलविरुद्ध उजुरी परेको छ। सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने समय रहेकाले डा. पौडेलविरुद्ध उजुरी परेको हो। पौडेलविरुद्ध स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएका कांग्रेसकै राजेन्द्र बुर्लाकोटीले उजुरी दिनुभएको छ। उहाँले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा बहाल रहेकाले उम्मेदवारी खारेज गरीपाउँ भन्दै उजुरी दर्ता गराउनुभएको हो। पौडेलविरुद्धको उजुरीको सम्बन्धमा जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यालयले जनाएको छ।