गणेश पौडेल
पर्वत, असोज २३ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि पर्वतमा दलहरूले उत्साहकासाथ मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधि सभा अन्तर्गत सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशी र नेकपा (एमाले) को तर्फबाट निवर्तमान सांसद पदम गिरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । गत २०७४ सालको प्रतिद्वन्द्वी रहेका जोशी र गिरी यसपटक समेत चुनावी मैदानमा उत्रिएका हुन् ।
यस्तै, प्रदेश सभातर्फ सत्तारुढ गठबन्धनबाट प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदिप कुँवर र (ख) मा कांग्रेसका नेता ऋषिकेष तिवारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
प्रतिनिधि सभातर्फ १ निर्वाचन क्षेत्र रहेको पर्वतमा गत २०७४ सालको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनबाट पदम गिरी निर्वाचन जित्नुभएको थियो ।