• ९ मंसिर २०८१, आइतबार

गुल्मीमा प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने

blog

रमेश विश्वकर्मा 

गुल्मी, असोज २३ गते । 

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गुल्मी जिल्लामा केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने भएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने भएको हो । 


प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएसँगै यस जिल्लामा चार केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– १ मा नेपाली काँग्रेसका नेता एवम् संविधानसभा सदस्य डा. चन्द्र भण्डारी र नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवालीबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता डा. भण्डारीले यस क्षेत्रमा टिकट पाउनुभएको हो । 


त्यस्तै, क्षेत्र नं– २ मा नेकपा एसका केन्द्रीय सचिव रामकुमारी झाँक्री र नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुने भएको हो । यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एसका केन्द्रीय सचिव झाँक्रीले टिकट पाउनुभएको छ ।


चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र १ क मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य चिन्तामणि पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।


प्रदेशसभा निर्वाचन क्षेत्र १ ख मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका महासमिति सदस्य धनेन्द्र कार्की र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । 


त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र २ क मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डिल्लीराज भुसालबीच प्रतिस्पर्धा हुने भएको छ ।


प्रदेशसभा निर्वाचन क्षेत्र २ ख मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका गुल्मी जिल्ला संयोजक बुद्धि जिसी र नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिनेश पन्थीबीच प्रतिस्पर्धा हुने भएको हो । 


यस जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनेहरूको नाम सामाजिक सञ्जालमा देखिएको छ ।